•            
    • Hikmat Dangol

    • ८ असार २०७७, सोमबार १५:११

    सपनाको देशबाट मातृभूमिलाई नजिकै छाम्दा

    इन्दिरा चेमजोंग

    टोखा लाइभ ।जब म नेपालमा थिए सबैको मुखबाट यही सुनिन्थ्यो सपनाको देश हो अमेरिका । जोकोहीलाई जीवनमा एकपटक अमेरिका गएरमात्र मर्न पाए हुन्थ्यो भन्ने कामना हुन्छ ।हो यही दुनीयाँले सोचेको सपनाको देशमा म पनि टुप्लुक्क आईपुगे अनगिन्ति सपनाहरूलाई पछ्याउँदै । उच्च शिक्षा हासिल गर्न आएको म यही दुनीयाँमा हराउन थाले । भौतिक शरीर सात समुद्रपारी यो शहरमा रहेपनि जब निदाउँछु म फेरि आफ्नै जन्मघर अनि 

    बाल्यकालको साथीहरूसँग रमाईरहेकी हुन्छु । कहिले स्कुल गईरहेको , कहिले साथीहरूसँग खेलेको, तिनै उकालीओरालि बाटोहरूमा सँधै हिडीरहेकी हुन्छु । जब बिउझन्छु आफै झस्किन्छु अनि महशुस हुन्छ शरीर जति टाढारहेपनि मन मस्तिष्कहरू सँधै आफ्नै ठाँउमा घुमिरहँदो रहेछ । अमेरिकालाई धेरै मान्छेले दलदलको भूमि पनि भन्छन् किनकि जोकोही यहाँ एउटा उदेश्य लिएर आँउछन् तर यहाँ आईसकेपछि सबैको उदेश्य, सोच अनि आवश्यकताहरू परिवर्तन हँदै जान्छ । यति समयपछि नेपाल जाने या त्यसपछि जाने  भन्ने सोच्दा सोच्दै समय बितेको थाहै हुन्न ।

    हो म पनि यही दलदलमा फसिरहेकी छु । एउटा फरियन सर्टिफिकेट हात पार्ने उदेश्यले आएकी  म यतै परिवार बसाउन थाले दशक भन्दा बढी समय यही भूमिमा बितिसकेछ  तर हिजो जस्तो लाग्छ अनि दुई तीन सालमात्र बितेको जस्तो लाग्छ। मेशिन जस्तै चलिरहने न्यूयोर्क शहरमा घडीको हरेक मिनेट र सेकेण्ड हेर्दै रफ्त्तारमा चल्ने जिन्दगी समय बितेको कुनै एेसास नै नहुने । बिहान जुरूक्क उठ्यो कामजान तयारी भयो, बच्चालाई स्कुलको लागि तयारी गर्यो, फेरि साँझमा कामबाट फर्क्यो डिनर तयारी गर्यो, खुवायो, बच्चाको होमवर्क गरायो सुत्यो । यस्तै ब्यस्ततामा दिनरात, हप्ता, महिना र वर्षहरू आफ्नै तालमा निरन्तर चलिरहन्छ।

    ” New York city never sleeps” भन्ने स्वलोगन नै भएको शहर हो यो । कहिल्यै नसुत्ने शहरपनि कोरोनाको कारण केही समय ठप्प भयो । अनि घडीको तालमा हिड्ने जिन्दगीमा पनि त्यस्तै परिवर्तन आयो। घरबाटै कामगरे पनि अफिस जानकोलागि दौडादौड छैन । हुनत  दुईजना ससाना बच्चाहरको आमा भएकीले त्यति फुर्सदिलो समय पाउन मुश्किलै हुन्छ ।कहिलेकाही त दिन एकछिन रोकिएर समय लम्विए पनि हुने जस्तो लाग्छ । यो समयमा मेरो आमाको सारै याद आउँछ । “परेपछि मात्र थाहा हुन्छ ” भन्ने एउटा भनाइ सही लागेको छ । आमा हुनुको सुखपनि दुःखपनि सबैकुरो आफुले भोगेपछि नै थाहा हुने रहेछ । यस्तो लाग्छ दुःख छ रत जीवन छ अनि यसैमा त मजा छ नत्र सुखैसुखको मात्र समय त कति नमज्जाको हुँदो होला हगि ?। जे जस्तो भएपनि समय एकनासले आफ्नै गतिमा बहिरहेको छ निरन्तररूपमा अनि जिन्दगीका अमुल्यपलहरूपनि पल्टिरहेको छ एकनास आफ्नै धुनमा ।

    यो सपनाको देशमा सबै चिज छन् दुःख, सुख, पीडा, हासो, रोदन, खुशि । यी सारा चिजहरू भएपनि आफ्नो परिवार, आफन्त अनि मातृभूमिको सम्झनाले जिन्दगी अपूर्ण नै रहन्छ । सम्पूर्ण भौतिक सुविधा, अमनचयन भएपनि मनमा पूर्ण चैन भन्ने हुन्न किनकि अर्काको ठाँउ र परिबेश आफ्नो बन्नु गाह्रो नै हुँदोरहेछ । भौतिक शरिरमात्र यहाँ छ तर हरेक मनहरू आफ्नै मातृभूमिमा हुन्छ । बिहान उठ्ने बित्तिकै नेपालमा के भइरहेछ त्यताकै समाचार हेर्न हतारिन्छन् मनहरू । पराईदेशको नागरिकता बोकेरमात्र मन नफेरिने रहेछ नत पराई देशलाई मनबाटै आफ्नो बनाउनु सकिदो रहेछ ।अमेरिकामा के भइरहेछ भन्ने समाचार नेपालपछिमात्र हेर्छु । म मात्र होइन कर्मभूमिमा रहनेहरू सबैको मन यस्तै हुँदोरहेछ । हामीलाई अमेरिकाको राजनिति भन्दा नेपालमा के भइरहेको छ त्यो नै बढी चिन्ता र चासोको विषय हुन्छ । देशको सिमाना आफ्नै छिमेकी राष्ट्रबाट मिचिदा सबैभन्दा दुःखी र चिन्तित हुने हामीजस्ता बिदेशिएका नेपाली नै हुनुपर्छ । कोरानाले अमेरिकामा एक लाख भन्दा बढीको ज्यान गइसक्यो नेपालमा छ/सातजनाको ज्यान जाँदा ओहो नेपालमा अब के  हुने हो कतिले ज्यान गुमाउने भनेर चिन्ता लागिरहन्छ । यहाँको जस्तै विकास भएर रोजगारको निम्ति कुनै समस्या नहुने हो भने हामी जस्ताले बिदेशिएर सँधै मातृभूमिको सम्झनामा बिलौना गर्न पर्दैन थियो होला ।

    यस्तै कुरो सोच्दासोच्दै रूकुममा भएको अन्तरजातीय प्रेम सम्बन्धले निम्ताएको बिभत्स हत्या आँखासामु नाच्न थाल्छ । २१ औ शताब्दीमा पनि तँ दलित म ठूलो जाति भनेर कसैको हत्यागर्ने कायर सोचभएका ब्यक्तिहरू प्रति खेद लागेर आँउछ । तर यो रंगभेद, जातिभेदको शिकार नेपालमात्र होईन संसारमै भयंकर पीडाजनक र हिंसात्मक भएर भड्किरहेको छ । अमेरिका जस्तो संसारको सबैभन्दा बढी मानब अधिकार भएको देशमा पनि समय समयमा यहाँका अश्वेतमाथि यहाँका श्वेतहरूले गरेका आक्रमणबाट कयौले ज्यान गुमाईसकेका छन् । सन् २०१४ मा एरिक गार्नर नामका एक अश्वेत नागरिकलाई न्युयोर्कको स्टाटन आइल्याण्डमा यहाँको श्वेत पुलिस अफिसरले घाँटी थिचेर उनको ज्यान लिएका थिए भने फेरि २०२० मा मिनियापोलिसमा जर्ज फ्लोइड नामक अर्का अश्वेतलाई अर्को श्वेत पुलिस अफिसरले घाँटी न्याक्दा उनको ज्यान गएको छ। यसैको बिरोधमा यहाँ बिभिन्न बिरोध प्रदर्शनहरू भइरहेका छन्। यस्ता प्रदर्शनहरू बिभिन्न समयमा भएपनि अहिलेको जस्ते हिंसात्मक प्रदर्शन भएको इतिसास कमै देखिन्छ ।

    एकातिर विश्वलाई कोरोना माहामारीले आक्रान्त बनाईरहेको यस दुखद समयमा आफ्नो मातृभूमि नेपालमा भएको जातीय दंगा र कर्मभूमिमा भएको रंगीय बिभेदले दुबैतिरको पीडा आफैमाथि थोपरिएको महशुस हुन्छ । भलै बाँचेर कर्म गरिखाने यस ठाँउमा भड्किन थालेको हिंसात्मक गतिबिधीले सम्पूर्ण आप्रावासीहरूमा केही न केही मनोबैज्ञानिक असर परेको छ। त्यसैले जिन्दगी हरतरहले जिउने हरेक पलहरूमा मातृभूमिबाट टाढिनु गाह्रो हुँदोरहेछ । सपना होस या बिपनामा होस, जतिसुकै सुविधा सम्पन्न परिबेश नै किन नहोस आफ्नो माटोको यादले सताईरहने रहेछ । आशा गरौ कुनैदिन आफ्नै ठाँउमा रहँदा अमेरिकाको भुतले फेरि नसताओस् । संसारमा शान्ति छावोस् मानवजाति सबै एक हौ भन्ने भावनाको विकास होस् यही मेरो कामना छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै