•            
    • Sanu Raj Dangol

    • २० जेष्ठ २०७७, मंगलवार १५:१३

    मानवता हराएको सहरमा:-

    -डा . सुजाता पन्त

    विश्व महामारीको चपेटामा छ। दिन प्रतिदिन कैयौं मान्छेहरु ज्यान गुमाइरहेका छन्। हजारौंको सङ्ख्यामा नयाँ सक्रमित थपिँदै छन्। मानिसमा त्रास बढिरहेको छ। सबैको काम-व्यवसाय चौपट भएको छ। आर्थिक सङ्कट चुलिएको छ।
    निम्न स्तरका मान्छेहरु, जो दैनिक ज्याला-मजदूरीमा जीवन गुजार्नेहरु छन्, उनीहरुको अवस्था निकै दयनीय छ। यस्तै आम जनसमुदायले भोगिरहेका हरेक समस्या म एउटा मानिस भएर नै भोगिरहेको छु। त्यस बाहेक पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले यो सङ्कटको समयमा अलिकति जिम्मेवारी थपिनु स्वभाविकै हो।
    देश लकडाउनको मारमा हुँदा धेरै मानिसले जे-जस्तो भए पनि आफ्नो परिवारसँग समय बिताउने अवसर पाउनु भएको छ तर हामी डाक्टर र स्वास्थ्यकर्मी त्यसबाट पनि वन्चित छौं। हरेक दिन दमले ग्रसित बुबा लामो श्वास लिँदै फोनमा बोल्नुहुन्छ- छोरी घर आउँदैनौ? यस्तो बेलामा काम नगरे हुँदैन? नभए जागिर नै छोडेर घरमा आए हुँदैन?
    म केहीबेर नि:शब्द हुन्छु। अनि सोच्छु, आमाबुबाको मन यस्तै त हो नि, आफ्ना छोराछोरी जति प्रिय अरु के हुन्छ र। म सम्झाउँदै भन्छु, ‘बुबा हजुरको छोरी डाक्टर हो, उसको जिम्मेवारी आम मानिसको स्वास्थ्यको हेरचाह र सेवा गर्नु हो। यो सङ्कटको समयमा त झन् हामी हाम्रो जिम्मेवारिबाट पन्छिन मिल्दैन। कोरोनाको यो युद्दमा सबैभन्दा अगाडि लड्ने योद्दा हामी नै त हौं बुबा। नजिकबाट हजुरकै सेवा गर्न नपाए पनि हजुर जस्तै कैयौं बिरामीको लागि लड्नुपर्ने यो घडीमा हजुरको अझ धेरै आशिर्वादको खाँचो छ मलाई। त्यसैले हजुरहरुले अलिकति कठोर नै भएर बुझिदिनै पर्छ, छोरीको जिम्मेवारी के हो। यो दुखद घडीमा उसको भूमिका कति महत्वपूर्ण छ भनेर। यो समय माया, मोह र भावनाभन्दा अलिकति माथि उठेर सोच्नुपर्छ हजुरहरुले।’
    आज कोरोनाको कहरमा बाँचेको पनि करिब तीन महिना भइसकेको छ। बिहानै एउटा साथीको फोन आउँछ, के छ हालखबर, के-कस्तो छ त्यताको माहोल, कसरी काम गरिरहेका छौ? यस्तै प्रश्न गरिरहँदा उनको बेसहारा भएको मलिन आवाज आउँछ, घरभेटीले घरमा नआउनु भन्नुभएको छ। यस्तो बेला छुट्टी लिन पनि नपाउने नियम छ। आफ्नो घर टाढा छ, खाने-बस्ने केही ठेगान छैन, कसरी काम गर्ने होला।
    यसै बीचमा हरेक दिन नयाँनयाँ समाचारहरु आइरहन्छन्। डाक्टर र स्वास्थ्यकर्मी जहाँ बसे पनि स्थानीयको विरोध।
    कहिलेकाहीँ आफैंप्रति दया लागेर आउँछ। अस्तिसम्म तपाईं भएपछि अस्पताल आउँदा धेरै सजिलो हुन्छ भनेर फोन नम्बर लिने मान्छेहरु आज त्यही अस्पतालबाट फर्केको भनेपछि अछुत व्यवहार गर्छन्। के हामी कोरोनाका बृक्ष हौं र? कुनै पनि कुरा हामीले आफ्नो घरबाट ल्याएका हौं र? के हामीलाई चाहिँ आफ्नो स्वास्थ्यको चिन्ता छैन र? के हामीले चाहिँ सुरक्षा नअपनाई, दूरी कायम नगरी काम गर्छौं होला र? हो हामी कैयौं बिरामीसँग एक्स्पोज हुन्छौं तर के ती बिरामी यिनै आमजनता हैनन र? हामी आफैं पनि आम जनताकै छोराछोरी हौं। केवल पेसा न फरक हो। आखिर समाजले हामीलाई गर्ने व्यवहार किन यस्तो?
    हो, महामारीको समय छ, सावधानी अपनाउनुपर्छ, दूरी कायम गर्नुपर्छ तर त्यस्तो अमानवीय व्यवहार हामीले कहिलेसम्म सहने? हेर्दाहेर्दै पनि डाक्टरले बिरामी नै हेरेन भन्ने, बिरामी मर्दा डाक्टरले गर्दा मर्‍यो भन्ने। आफ्नो धर्म, कर्तव्य र जिम्मेवारी सम्झेर काममा लगिरह्यो, फलानो डाक्टरले त कस्ता-कस्ता बिरामी हेर्छ, उसलाई कोठा दिनु हुँदैन, उसलाई समाजबाट निकाल्नुपर्छ भन्ने? आखिर कुन लेवलको गिरेको मानसिकता हो यो? आखिर कहिलेसम्म यसरी अमानवीय व्यवहार सहिरहने स्वास्थ्यकर्मीले?
    आज जो-जतिले डाक्टर तथा स्वास्थ्यकर्मीलाई यस्तो व्यवहार गरिरहनुभएको छ, भोलि उहाँहरुलाई कोरोन सङ्क्रमण भयो भने छुने र उपचार गर्ने अरु कोही हुने छैन। यो कुरा सबैले ख्याल गर्नु जरुरी छ।
    अन्त्यमा, क्वारेन्टाइनमा राखिएका सबै स्वास्थ्यकर्मी र डाक्टरहरु सङ्क्रमित हैनन्। उनीहरु स्वस्थ व्यक्तिहरु हुन् र थप सावधानीको लागि मात्रै केही समय छुट्टै राखिएका हुन्। आम डाक्टर र स्वास्थ्यकर्मीहरु देश र जनताकै लागि फ्रन्टलाइनमा आएर लडिरहेका छन् भने उनीहरुको लागि सरकार, राज्य र आमजनताले पनि सहयोग र सहकार्य गर्नु उनीहरुको मनोबल उच्च राख्नकै लागि पनि जरुरी छ।
    बेलुका घरभेटीले नआइज भन्यो भने कहाँ जाने, के गर्ने, के खाने भनेर त्रसित मन बोकेर आएको डाक्टरले तपाईंको उपचार कसरी गर्छ? तसर्थ स्वास्थ्यकर्मीले तनावरहित, सुरक्षित र ढुक्कसँग काम गर्ने वातावरण मिलाउन सकिएन भने भोलिका दिनमा देश र जनता भन्ने सोच्न छोडेर सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी आफू आफ्नो सुरक्षा र गास-बाँसको लागि मात्र सोच्न बाध्य हुनेछन् र सबै स्वास्थ्य संस्थाहरु चिकित्सक र स्वास्थ्यकर्मीविहीन हुनेछन्।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै