•            
    • TOKHA LIVE

    • १३ असार २०७७, शनिबार ०६:५८

    प्रेरक प्रसंग : वैज्ञानिक फराडेको सादापन।


    टाेखा लाइभ
    २०७७ असार १३
    महान् वैज्ञानिक माइकल फराडे रोयल सोसाइटीमा काम गर्थे । एकपटक एक उच्च सरकारी अधिकारी उनीसित भेटघाटका लागि रोयल सोसाइटी पुगे । उनले त्यहाँका गार्डसित वैज्ञानिक फराडेबारे सोधे । गार्डले उनी प्रयोगशालामा भेटिने जवाफ दिए । अंग्रेज अधिकारी प्रयोगशाला पुगे । पूरै प्रयोगशालामा खोज्दा पनि उनले वैज्ञानिक फराडेलाई भेटेनन् । प्रयोगशालाबाट बाहिरिनै लागेका वेला उनले बोतल सफा गरिरहेका एक साधारण वृद्धलाई देखे ।

    उनले रिसाउँदै तिनै वृद्धलाई सोधे– ए बुढाबा, के तिमी यहीँ काम गर्छौ ? आगन्तुकको प्रश्न सुनेपछि उनले नम्रतापूर्वक जवाफ दिए– हजुर, पछिल्लो ४० वर्षदेखि म यहीँ कार्यरत छु । सरकारी अधिकारीले भने– मलाई गार्डले वैज्ञानिक फराडे यतिखेर प्रयोगशालामा हुनुहुन्छ भनेको थियो । तर, उहाँ त यहाँ कतै देखिनुहुन्न । त्यसले झुटो बोलेर मलाई झुक्याएछ । म वैज्ञानिक फराडेसित यसबारे उजुरी गर्नेछु । के तिमी बताउन सक्छौ, यतिखेर वैज्ञानिक फराडे कहाँ हुनुहुन्छ ?
    ती वृद्धले पहिलेझैँ सहज भावमा जवाफ दिए– गार्डले झुट बोलेका होइनन् । फराडे अहिले पनि यही प्रयोगशालामै छन् । वृद्धको जवाफ सुनेपछि अंग्रेज अधिकारीले छक्क पर्दै यताउता सबैतिर हेरेर भने– खै त, कहाँ हुनुहुन्छ उहाँ ? म त उहाँलाई कतै देख्दिनँ । उनको प्रश्न सुनेपछि ती वृद्धले मुसुक्क हाँस्दै भने– म नै हुँ तपाईंले खोजिरहेको फराडे । भन्नुहोस्, के काम थियो होला ? वैज्ञानिक फराडेको जवाफ र प्रश्न एकसाथ सुनेपछि अंग्रेज अधिकारीले लज्जाले शिर झुकाए 

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै