•            
    • TOKHA LIVE

    • १६ माघ २०७७, शुक्रबार ०८:५७

    के कोलम्बस नै पहिले अमेरिका पुगेका हुन् ?

    भीम राई

    क्रिष्टोफर कोलम्बसको जन्मस्थल इटालीको दुईहप्ता भ्रमणपछि १२ अक्टुबर २०१७ को दिन हामी लण्डनदेखि जमैका जाँदै थियौ । हामीलाई यात्रामा सदाझैं भाई कृष्ण र बहिनी सानुले साथ दिइरहनुभएको थियो । लण्डनदेखि उडेको साँढे दश घण्टापछि मस्याइला पाराको आवाजमा बिमान अबतरण भयो । बिछट्टै सङ्लो सामुन्द्रिक जल र सेतासेता बालुवाद्वारा निर्मित ‘ट्रपिकल ब्लिस बिचको’ दायाँ किनारमा अबस्थित मन्टिगो बे बिमानस्थलमा ड्रिमलाइनर अबतरण हुँदा पानीमाथि अबतरण भएझैं अनुभव गरिरहेका थियौ । लामो समयसम्म आकाशमा उडेर जमैका पुगेको हुनाले मलाई पनि किनकिन कोलम्बसलाई जस्तै अर्कै संसार पुगेझैं लागिरहेकाे थियो ।

    हातेघडीको काँटाले स्थानीय समय बिहानीको ठिक एघार बजाएको थियो । बिमान अबतरण भएर मन ढुक्क भएपछि हत्तपत्त बिमानका झ्यालदेखि बाहिर नियाले । दम्साइला डाँडाका थुम्कामा देखिएका हरिया बनजङ्गल अनि निलो आकाशसम्म पुगेर ठोकिएको निलै पानी र सेताम्मे बालुवासँग मस्ती जमैकाको पहिलो नजरले मेरो मन बहकिरहेको थियो । बिमानस्थलदेखि बाहिर निस्कने क्रममा अचानक क्यारेबियन सागरदेखि उत्पन्न भएको मन्दमन्द बतासले मेरो गालामा छुँदा लखतरण भएको शरीरलाई चङ्गाझैं फुरुरु उडाइरहेको महसुस भइरह्यो ।

    – क्रिष्टोफर कोलम्बस

    हामी बाहिर निस्किएपछि केहीबेर त्यँही उभिरहेका थियौ । हामीलाई देखेर करिब साढे पाँच फिट अग्ली, सेती, खान नपाएर बेपत्ताको दुब्लो शरीरमा अस्वाभाविक रुपले उठेको छाती लिएर एउटी युबतीको अनुहार मेरो अनुहारसँग मज्जाले ठोकियो । उनको अनुहार ठोकिने बितिक्कै, ‘यहाँहरुलाई जमैकामा हार्दिक स्वागत छ,’ मिठो मुस्कानसहित आँखा झिमक्याउँदै उनी बोलिन् । त्यसपछि उनले ‘कोच सी’मा चढ्नकाे लागि सङ्केत गरिन् ।

    उनले देखाएकी कोचतर्फ हाम्रा पाइतालाहरु सुस्तरी अगाडि बढे । यात्रुहरुको प्रतिक्षा गरेर बसिरहेका एकजना अश्वेत कोच चालकको नजिकै पुग्यौ । हामीलाई देखेर चालक फिस्स हासें । तर केही नबोली हाम्रा सुटकेसहरु कोचको मुनि भण्डारमा राख्न मदत गरे । सुटकेसहरुले भण्डारमा स्थान पाएपछि हामी सरासर कोचभित्र पस्यौ ।

    एक्कैछिनमा यात्रुहरुले कोच टन्न भरिए । कोचको ढोका बन्द हुने बितिक्कै चालकले, ‘यहाँहरुलाई जमैकामा न्यानो स्वागत छ,’ भन्दै स्पिकरमा बोले । त्यसपछि रेडियोको स्विच टक्क थिचें । रेडियोदेखि मार्लीको गित बज्न र कोचको टायर गुड्न झनझनै एउटै समयमा सुरु भएको थियो । सर्बाधिक लोकप्रिय जमैकन गायक बोब मार्लीको ‘बफेलो सोल्जर’ गितदेखि आरम्भ भएको हाम्रो यात्रा ‘नो ओमन नो क्राई’मा पुगेर सकिएको थियो । कोचबाट छोटो दुरीको यात्रा गरेर हामी मन्टिगो बे बन्दरगाहमा पुगिसकेका थियौ ।

    बब मार्लीको गाउँमा मध्यान्हको मौसम ज्याँदै सुन्दर थियो । सधै पिच्चपिच्च रोइरहने बेलायती आकाश भन्दा जमैकाको निलाे आकाशले हामीलाई आकर्षण गरिरहेको थियो । हुन त बेलायत र मध्यअमेरिकाको मौसम तुलना गर्न मुर्खता सिबाय अन्य केही हुन्थेन । हाम्रो बायाँपट्टि एउटा सेतो पहाडजस्तो देखिने बडेमानको पानीजहाजले हाम्रो प्रतिक्षा गरेर बसिरहेको थियो । हामी पस्नै लागेको त्यो पानीजहाजलाई देखेर हाम्रो मन फुरुङ्ग हुँदै हावामा उडिरहेका थियाै । केहीबेरमा हामी अगाडिको मानिसहरु बन्दरगाहको अध्यागमनभित्र सुस्तरी बिलय हुँदै गएँ । त्यसपछि हामी पनि कमिलाको तातीझैं उनीहरुको पछिपछि पङ्त्तिबद्ध भएर पछ्याउन थालेका थियौ ।

    सुस्तरी अध्यागमनलाई पार गरेर ‘थोम्पसन ड्रिम’ भित्र पस्दा अपरान्हको दुई बजेको थियो । तर क्रुजभित्र पाइताला पार्ने बितिक्कै सुरक्षा अधिकृतहरुले कोठा तयार भइसकेको छैन । कृपया दश तलामा गएर लन्च खानुहोला भन्ने अनुरोध गरे । उनीहरुको अनुरोधलाई स्विकार गर्दै लन्च खाने स्थानमा पुग्यौ । खाना खाएर त्यही आराम गरिरहेका थियौ । अचानक ध्वनी सुचक यन्त्रदेखि कोठाहरु पूर्णरुपले तयार भएको खबर मिल्यो । त्यसपछि पूर्बसल्लाह भए बमोजिम आ-आफ्ना कोठामा पुगेर झन मज्जाले आराम गर्न थाल्यौ । बिमानको लामो यात्राले थाकेर लखतरन परेका थियौ । त्यसैले कोठामा पुगेर निक्कै लामो समयसम्म आराम गरिरह्यौ ।

    पाँच घण्टा आराम गरेर ब्युँझेपछि फेरि पानीजहाजको दशौ तलामा पुगेका थियौ । तर हामी त्यहाँ पुग्न अगाबै पानीजहाजले क्यारेबियन सागरको यात्रा आरम्भ गरिसकेको थियो । क्यारेबियन सागरमा त्यसदिनको बिदाइ र नयाँ रातको स्वागतलाई दशौ तलादेखि निक्कै लामो समयसम्म नियालेर हेरिरहयौ । मन्टिगो बे जमैकाको क्षितिज गाढा रङ्गमा परिणत हुँदै समुन्द्रमा सर्लक्कै बिलाएपछि नुहाइ धुवाइ गर्न, भट्टि पसलमा पुगेर जाड पिउन र अन्तमा खाना खानको लागिनै त्यस रातको सबै समय खर्च भएँ । भोलि बिहान उठेर खाजा खानको लागि पानीजहाजको दशौ तलामा पुगेका थियौ । तर हामी त्यहाँ पुग्न अगाबै पानीजहाज लिमोन बन्दरगाह, कोष्टारिकामा मज्जाले आराम गरिसकेको रहेछ । पानीजहाज बन्दरगाहमा रोकिसकेको हुनाले चाँडोचाँडो खाजा खायौ र बाहिर निस्कि हाल्यौ । बाहिर निस्केपछि थोरैबेर हिडेका मात्र के थियौ । बन्दरगाहको कारपार्कमा पुगिहाल्यौ ।

    एउटा ठूलो बाक्लो सेतो कागतमा ठूलठूला अक्षरमा मेरो नाम लेखेर पथप्रदर्शक हाम्रो प्रतिक्षा गरेर बसिरहेकी देखिहाल्यौ । र, उनलाई देखेपछि हात उँठाउदै उनको नजिकै पुग्यौ । पथप्रदर्शकसँग भेटने बितिक्कै, ‘मेरो नाम लुशियाना हो,’ आँखा झिमझिम गर्दै उनको नाम बताइन । परिचयको क्रममा हाम्रो नाम पनि बतायौ । त्यसपछि उनी सँगसँगै हिडन थाल्यौ । हाम्रा कदमहरु थोरै चलेका मात्र के थिएँ । अघिनै हामी चढँने मटरको नजिक पुगिसकेका रहेछौ । हामी त्यहाँपुग्दा मटरको ढोका खुला थिएँ, त्यसैले मटरमा चँढिहाल्ने सङ्केत गरिहालिन ।

    मटरमा चँढेर सिटमा आसन गर्ने बितिक्कै चक्का गुडन थालिहाल्यो । लुशियानाले बोल्ने क्रममा लगभग पाँचबर्ष जति क्यारेबियन क्रुजमा काम गरेकी अनुभव हामीलाई त्यसबेला बाँडिन । उनी हालसालै बैबाहिक गठबन्धनमा परेकी रहेछिन् र बच्चा जन्माउने उदेश्यले क्रुजको कामलाई सधैको लागि छाडेकी भन्नपनि बाँकी राखिनन् । अझै शेषजीवन पथप्रदर्शक भएर गुजार्ने रहर गरेकिले नयाँ कामगर्न आरम्भ गरेकी कुरोपनी अति प्रसन्नताको साथ हामीलाई सुनाइ हालिन ।

    हाम्रो लागि नयाँ ठाउँ, परिवेश र पहिलो भेट भएको हुनाले उनको कुरोलाई ध्यान पुर्वक सुनिरहेका थियौ । कोष्टारिकामा धैरैजसो युरोपियन पर्यटकहरु मात्र भेटने पथप्रदर्शकले त्यसदिन अलिक फरक अनुहार देखेपछि –

    ‘होइन ! तपाईहरु कहाँदेखि आउनु भएको हो ?’ थोरै आश्चर्यचकित हुँदै हामीलाई प्रश्न गरिन ।

    प्रत्युत्तरमा मैले, ‘नेपाल’ मात्र भनेको के थिएँ । उनी मेरो कुरो सुनेर दङ्ग परिन । ‘अरे ! नेपाल कहाँ पर्छ ?’ हतार हतार अर्को प्रश्न बर्षिहाल्यो । म पनि के कम थिएँ र ? उनको बोलि भुइमा गिर्न नपाउदै, ‘नेपाल एशियामा पर्छ,’ भनेर उनको कौतुहलता मेटने प्रयत्न गरिहालें ।

    ‘जे होस, मलाई अहिलेसम्म एशिया पुग्ने शौभाग्य चाँही जुरिसकेको छैन्,’ पहिले भनिन् त्यसपछि शान्त भएर बसिरहिन ।

    किराँतीको छोरो भएकोले म अलिक फुच्चे थिएँ । तै पनि उनको ठिक पछाडिको सिटमा मज्जाले खुट्टा तन्काएर आसन गरिरहेको थिएँ । अझ मेरा आँखा चिम्सा चिम्सा भएपनि आक्कल झुक्कल कर्के नजरले अनायसै उनलाई हानिरहेको हुन्थे । उनले भनिछाडेकी अन्तिम बाक्यशँपछि मुन्टोलाई बायाँ दिशातिर फर्काएकी थिइन । र, झ्यालदेखी बाहिर हेरेर उनको दिमाग खियाउन थालेकी थिइन । तर जति दिमागलाई घोटेपनि कहिल्यै एशिया नपुगेकी मान्छेलाई नेपालको बारेमा झन के थाहा हुने भन्दै म पनि चुपचाप बसिरहें । बिचरिले एकछिन पछि नेपालको नाम जिन्दगीमा प्रथमचोटि सुनेकी हुनाले सानो स्वरले क्षमा याचना मागिन ।

    ‘लुशियाना ! कुनै सुर्ता गर्न पर्दैन ?’

    अझ मैले कुरो थप्दै जान थालें । ‘खै ! तपाइलाई के भनौ र ?’ झन मेरी श्रीमतीले क्यारेबियन टापुहरु र दक्षिण अमेरिकाको कुनैपनि देशहरुको नाम अहिलेसम्म जानेकी छैनन् । मैले कतिचोटि उनलाई पाठ पढाए, तै पनि भालुलाई पुराण सुनाएझै मात्र भइरह्यो । अह ! उनले अहिलेसम्म पटक्कै पारा ल्याउन सकेकी छैनन् । त्यसैले मलाई यदाकदा कन्फ्युशियसले भनेको तिनै कुरोको झलझलि याद आइरहने गर्दछन् ।

    ‘जबसम्म कुनै चिजलाइ प्रत्यक्ष देख्न सकिदैन, तबसम्म त्यसलाई चाल पाउन सकिदैन ।’

    सायद त्यसैले होला प्रायः धेरैजसो कुरोहरु आफ्नो आँखाले देखेपछि मात्र जान्नको लागि सजिलो हुनेगर्दछ । अझ स्वभाबैले मानिसहरु धनि र प्रख्यात कुरो मात्रै चिन्ने र जान्ने गर्दछन । अनि हामी ज्यादै गरिब छौ, जसले गर्दा बिश्वको थोरै मानिसहरुले मात्र हामीलाई मुश्किलले चिन्दछ । त्यति भनेर उनलाइ थोरै शान्त्वना दिने प्रयत्न गरें । कसोकसो मेरो कुरोले उनलाई चिलाएको ठाउँमा कन्याएको जस्तो भएछ क्यारे, त्यसैले म तिर फर्केर एकचोटि कोष्टारिकन मुस्कानले झट्टारो हानि पठाइन ।

    ‘लिमोन रुट ३६’ मा मटर एक रफ्तारले गुडिरहेको थियो । नजिकै देखिएको अन्तराष्ट्रिय बिमानस्थललाई बायाँ दिशामा पारेर हामी होमरलाई सम्झदै मध्य अमेरिकिन देशहरुको एउटा ‘शाहसिक यात्रा’ गरिरहेका थियौ । सडकको दायाँतर्फ पातलो बस्तिहरु र धेरै फाँटिलो जमिनहरुले हामीलाई यदाकदा जिस्कयाइ रहेको जस्तो आभास हुन्थे । म एउटा बुभुक्षित सपना लिएर कोष्टारिकाको जमिनमा टेकिरहेका थिएँ । जुन निराहार सपना भनेको त्यहाँ पुगेर कोलम्बसले टेकेका पाइतालाका डोबहरु पत्ता लगाउनु थियो । त्यसैले प्रशान्त महासागर र क्यारेबियन सागरको बिचमा सान्डविच भएर रहेको देश कोष्टारिका पुग्दा मेरा मन प्रफुल्लित मुद्रामा उडिरहेका थिएँ ।

    पोर्टो लिमोन (पोर्टो भन्नाले स्पेनिस भाषामा बन्दरगाह भन्ने बुझिन्छ) त्यसको मतलब लिमोन बन्दरगाहदेखि हामी सामुन्द्रिक तट ‘प्लाया नेग्रा’ तर्फ जादै थियौ । हाम्रो लिमोनको समय क्यारेबियन सागरको तटमा अबिरल बहिरहने ‘पाकुअरे’ नदिझै एकसुरमा बहिरहेको थियो । हामी क्रमशः बाटोलाई छिचोल्दै गइरहेका थियौ । अचानक हाम्रा आँखा नथाक्ने गरि कोष्टारिकन उष्णप्रदेशिय जङ्गलहरु देखापर्न आरम्भ गरें । जसलाई देखेपछि, कताकता तिनै जङ्गलले हामीलाई न्यानो स्वागत गरिरहेको छ कि जस्तो आभास हुनथाल्यो । अझै त्यति आकर्षक जङ्गलले आफ्नै घर बुईपा, खोटाङ्मा रहेको दम्कुडाँडा जङ्गलको बेस्सरि तिर्सना मेटाइ दियो ।

    लिमोन हाईवेमा मटर आफ्नै गतिमा क्रमशः अगाडि बढिरह्यो । मटरको गति सँगसँगै त्यति आकर्षक जङ्गललाई मन्त्रमुग्ध हुँदै हामी एकसुरले रमिता हेरिरह्यौ । एकछिन पछि ठूल्ठूला रुखका हाङ्गाहरुमा ओरालो मुन्टो बनाएर झुण्डिरहेका ‘स्लोथ’ आलसहरुलाई देख्दा छक्क परिरह्यौ । ठीक त्यँहीबेला हाम्रा आमोदी मनहरुलाई बिचलत गर्दै –

    ‘खै ! एकछिन मटर रोक्नोस त ?’ पथप्रदर्शक लुशियानाले चालकको काँधमा सुस्तरी हात राखिन त्यसपछि टकटक गर्दै मटर रोक्नको लागि सङ्केत दिइन । चालकले उनको हुकुमलाई शिरोपर गर्दा अतालिएर झ्याम्मै ब्रेक हिर्काइ हाले । त्यसरि एक्कासि ब्रेक लगाउँदा मटर सङ्कटकालिन अबस्थामा रोक्न परेकोझै घचक्कै रोकियो । अचानक झ्याम्मै मटर रोकिंदा कुनै ठूलो दुर्घटना त घटेन । तर मन्त्रमुग्ध भएर कोष्टारिकन जङ्गल हेरिरहेकी तारा उछिटिएर झण्डै चालकको छेउमा टाँसिन पुगिन ।

    ‘आम्मै ! बजियाले झण्डै मार्यो ?’ अतालिदै चालकको सिट पिछाडि समात्न पुगेकी ताराको मुखबाट उक्त्त शब्द फुत्किहाल्यो । ‘काठमाण्डौ बाट लिमोन, कोष्टारिका १५ हजार ६ सय किलोमिटर टाढा रहेकोछ । यदि हिडेर यहाँ आउने हो भने मानिसलाई सातजुनि लाग्ने रहेछ, त्यसैले अलिक सम्यम हुनु,’ भनेर राम्ररि सम्झाइ बुझाइ गरें । हामीले यस धर्तिमा पैतिसवटा हिउँदहरु सँगसँगै कटाइसकेका थियौ । त्यसैले मैले भनेको सबैकुरो त उनले के सुन्थिन र ? धेरैजसो सुन्ने गरेकी थिइनन् । बरु मेरो भनाई सुनेर भाई बहिनीहरु चाँही खित्का छाडिछाडि लामो समयसम्म हासिरहें । मटरको सबैभन्दा छेउपट्टिको सिटमा म नै आसन गरिरहेको थिएँ । त्यसैले मटरदेखि सबैभन्दा पहिले म नै सडकमा झरे । सडकमा झर्ने बितिक्कै धेरैबेरसम्म कक्रक्क परिरहेको खुट्टालाई तन्काउन थालिहालें । अरु पनि बिस्तारै झरे र सडकको किनारमा उँभिएर आलसहरुको रमिता हेर्न थालिहालें ।

    हाम्रा सामन्ने थुप्रै आलसहरु देखा परिरहेका थिएँ । त्यति लोभलाग्दो आलसहरुलाई हामीले जिन्दगीमा प्रथम चोटि देखेको थियौ । त्यसैले हाम्रा मनहरु तिनीहरुको शरिरदेखि उडेका भुवाझै सरर हावामा उँडिरहेका थिएँ । चालकले मटरदेखि झर्ने छाँट देखाएका थिएनन् । तर लुशियाना हामीभन्दा थोरै टाढा उँभिएर दायाँ बायाँ नजर लगाइरहेकी थिइन । एकछिनपछि उनी हिडदै मेरो नजिकै आइपुगिन । र, मधुरो स्वरमा उनको पछिपछि आउन हामीलाई आग्रह गरिन । दुई-चार कदम उनको पछिपछि हिडेको थियौ । बायाँ पट्टिको रबरको रुखमा सुतिरहेको एउटा आलसलाई चोरऔंलाले घोचेर देखाउदै, ‘त्यो भाले आलस हो,’ उनले भनिन् ।

    खै उनले भाले र पोथी आलसलाई कसरि चिन्न सकिन । मैले त्यति गहिरिएर बुझ्नै सकेको थिइन । तै पनि उनले फलाकि रहेकी हरेक शब्दहरुलाई राम्ररि सुन्ने प्रयत्न गरिरहेको थिएँ । केहिबेरमा उनी म तर्फ फर्किन र मेरो कानमा खासखुस गर्न थालिन, ‘यो जन्तू यति अल्सि हुन्छकि दिनमा पन्ध्रघण्टा भन्दा बढि सुत्ने गर्दछ ।’ उनको भनाइ सुनेर म आश्चर्यचकिंत भएँ । मुख खोलेर वा…भनेको मात्र के थिएँ । मेरो आवाज सुनेर बिचरो बबुरो झस्किदै ब्युँझिहाल्यो ।

    ‘लुशियाना ! त्यति लामो समयसम्म सुत्दा के यिनीहरुलाई भोक लाग्दैन र ?’ मेरो प्रश्न भुईमा खस्न नपाउदै, ‘लाग्छ नि किन नलाग्नु । यो एकछिनमा रुखका पातहरु खानको लागि ब्युँझन्छ, त्यसपछि फेरि सुतिहाल्छ । सायद तपाईहरुलाई थाहा नहुन सक्छ । यसले एकदिनमा करिब आँधा फुटबल खेलमैदान जति मात्र हिडने गर्छ । र, मुस्किलले हप्तामा एकचोटि जति रुखदेखि भुईमा झर्छ र फेरि चढिहाल्छ । सुत्नमात्र खोजि रहने यो जनावर एकदम दुःखी छ ।’

    करुणामय उनको शब्दहरु पुर्णबिराम हुन नपाउँदै आलसको जीवन प्रबृति सुनेर हामी चारैजना तीनछक्क परिरह्यौ । अल्सी आलसहरुसँग बिदावारि भएपछि क्रमशः ‘प्लाया नेग्रा’ तर्फ लाग्यौ । त्यहाँ पुगेर सामुन्द्रिक तटमा रहेको कोष्टारिकन रेष्टुरामा मध्यान्हको खाना हसुरेपछि केराबारि तिर घुम्नको लागि निस्क्यौ । किनभने कोष्टारिकाको केराले बिश्व बजारमा राम्रो प्रतिष्ठा कमाएको छन् ।

    लिमोनको समय दिउँसोको साँढे दुई बजेको हुनुपर्छ । हामी ‘टोर्टुगेरो’ नहरमा नौका चढ्नकाे लागि पुगिसकेका थियौ । बिभिन्न प्रजातिका चराचुरुङ्गी, कछुवा, गोही र बादरहरुको रमाइला खेल हेर्ने पाइने त्यो नहर लिमोन राष्ट्रिय निकुन्जको मुटुमा अबस्थित रहेकोछ । हामीले नहरमा पुगेर एउटा डुङ्गा भाडामा लियौ । र, जेम्स बोन्डको कार्यशैलिमा डुङ्गादेखि नहरको शयर गर्न थाल्यौ ।

    टोर्टुगेरो नहरमा डुङ्गा आफ्नै गतिमा अगाडि बहिरहेको थियो । लुशियानाले हात तेर्स्याएर देखाउँदै बोल्न थालिन, ‘ऊ त्यो परको सानो दिपमा कोलम्बसले कोष्टारिका आउँदा उनका पानीजहाज रोकेका थिएँ ।’ उनको कुरो सुनेर चारैजनाको मुन्टो एक्कासि त्यतातिर घुमिहालें । मैले उनको तिनै शब्दहरुलाई धेरैलामो समयसम्म प्रतिक्षा गरिरहेको थिएँ । किनकिन मलाई त्यहाँ देखिएका जङ्गली जीवजन्तूले गरेको आकर्षण भन्दा कोलम्बसले गरेको क्यारेबियन यात्राले झन धेरै आकर्षण गरिरहेको थियो । उनले देखाएकी तिनै दिपतर्फ नजर लगाइरहेको थिएँ । एकचोटी लामोसास तानेर मुश्किलले मुखखोले –‘लुशियाना ! तपाईलाई कोलम्बसको क्यारेबियन यात्राको बिषयमा के कति ज्ञान छ ?’

    ‘छन्, केहि छन् ।’ नहरबाट उत्पन्न भएको मन्दमन्द हावाको गति सँगसँगै लुशियानाले मधुरो स्वरमा बोल्न थालिन । उनले बोल्न सुरुगर्दा दोश्रोचोटी उनको दायाँ हात उचालियो र तिनै दिपतिर पुनः तेर्सिए ।

    क्रिष्टोफर कोलम्बस सन् १५०३ मा लिमन, कोष्टारिका आइपुगेका थिएँ । तर, उनी यहाँ आउनुभन्दा पहिले ३ अगष्ट १४९२ मा तीनवटा पानीजहाजहरु निना, पिन्टा र सान्टा मारियसँग स्पेन छाडेका थिएँ । उनको उदेश्य इन्डिया हुँदै चिन र जापान सम्म पुग्ने थियो । उनीभन्दा अगाडि जहाजी अन्वेषक मार्कोपोलो युरोपदेखि पुर्व लागेर एसिया पुगेका थिएँ, त्यसैले कोलम्बसले त्यसको ठिक बिपरित दिशाबाट एशिया जानेसोंच बनाएका थिएँ ।

    कोलम्बसले युरोप छाडेपछि आन्ध्र महासागरमा महिनौ दिन बिताएँ । निश्चयनै मैले यहाँ दुःखको साथ भन्नुपर्छ । उनले त्यतिबेलासम्म जमिन फेला पार्न सकिरहेका थिएनन् । तै पनि हिम्मत नहारि यात्रालाई निरन्तर पश्चिम दिशातर्फ अगाडि बढाइरहेका थिएँ । त्यतिलामो सामुन्द्रिक यात्रा गरेपनि जमिनको अत्तोपत्तो नभएपछि जहाजका कर्मचारीहरुले उनलाई ठूलो समश्य दिन थालेका थिएँ । किनभने धेरैजसो कर्मचारीहरुले त्यतिलामो यात्रा कहिलेपनि गरेका थिएनन् ।

    आन्ध्र महासागरमा पानीजहाज जति पश्चिम दिशातर्फ बढदै जान्थ्यो, त्यति कर्मचारिहरु अब बाँचीदैन होला भनेर मनोबल गिराउँदै जान्थ्यो । हरेक रातहरु छिपिदै जाँदा सामुन्द्रिक हुरिले जहाजलाइ बेस्सरि हल्लाउने गर्दथे । खराब मौसमले बेस्सरि जहाज हल्लिएको बेला कर्मचारीहरुको मुटुले ठाउँ छाडदथे । त्यस्तो चकमन्न अध्याँरो रातमा अचानक सामुन्द्रिक राक्षसहरु आएर सबैलाई एक्कै छाक पार्ने होकि भनेर उनीहरु झन धेरै भयभित हुनेगर्दथे । अझै सबैभन्दा ठुलो डर त पृथ्वी थाल जस्तो च्याप्टो होला ? र, पश्चिमपश्चिम भन्दै जाँदा कुनबेला समुन्द्रको छेउमा पुगिएला ? अनि त्यहाँदेखि बङलङ्गै खसिएर पातलमुनि पुगिएर मरिएला भन्नेनै मूख्य थियो ।

    दिन, रात, हप्ता र महिना बित्दै गइरहेको थियो । दश हप्तासम्म जमिनको अत्तोपत्तो लाग्न सकिरहेका थिएनन् । त्यसैले कर्मचारिहरुले इटालियन कोलम्बसलाई बिदेशि धोकेबाजको सज्ञां दिदै स्पेन फर्कनको लागि मागराखेर बिद्रोह गर्न थालेका थिएँ ।

    हुन पनि यात्रामा कोलम्बस मात्र लुखुक्रै इटालियन थिएँ, रहलपहल ९० जना सबै स्पेनिसहरु थिएँ । यदि कोलम्बसले हाम्रो मागलाई अस्विकार गर्छन भने उनलाई मारेर पानी मुनि फालि दिने कानेखुशि गरेको पनि उनले नरमाइलो मान्दै सुनिरहें । यात्रामा धेरैजसो बिद्रोहिहरु ठूल्ठूला शरिर भएका भुसतिघ्रे चोर र गुन्डाहरु थिएँ । उनीहरु कारागार बाट मुक्ति पाउने आशाले रानीले भनेको मानेर सिधै यता आएका थिएँ । अनि होहल्लामा साथ दिने पानीमरुवाहरु चाँही भर्खरका आलाकाँचाहरु थिएँ । तिनीहरु धेरैपैसा पाउने लोभमा कोलम्बससँग बाटो लागेका थिएँ ।

    ‘म कर्मचारिहरु सँग एकदम ठूलो समश्यमा जाँकिएको छु ।’ उक्त्त हरपहरु उनले आफ्नो अति गोप्य डायरिमा लेखेका थिएँ । अब केहिदिन भित्रपनि जमिन भेटन सकिएन भने मेरो मृत्यु सिबाय अर्को कुनै बिकल्प हुनेछैन भन्ने पनि लेखेका थिएँ । तै पनि निक्कै धेरै पैसा कमाउने उदेश्यले सुनको खोजिमा हिडेका कोलम्बसले निडर बन्ने प्रयत्न गरिरहें । तर, त्यति खतरापुर्ण आन्ध्र महासागरको बिचँमा एक्लो कोलम्बस निडर हुनुसिबाय अन्य धेरै बिकल्पहरु पनि उनीसँग बाँकिरहेका थिएनन् ।

    समय निरन्तर बित्दै गयो र दिनहुँ जे जस्ता घटना घटथ्यो । कोलम्बसले सबै घटनाहरु दैनिकिमा लेख्दै राख्ने गर्दथे । त्यस यात्रामा उनको दुईवटा डायरिहरु थिएँ । एउटा कसैले नदेख्ने गरेर अति गोप्यकुरो लेखिएका हुन्थे । र, अर्को चाँही जो कोहिले हेर्न र पढन मिल्दथ्यो । जुन डायरि गोप्य थियो, त्यसैमा उचित बिबरणको सहि अभिलेख लेखिन्थ्यो ।

    १० अक्टोबरको बिहान सदाझै समुद्रको बिचबाट झलल शूर्य उदायो । हुनत हरेकदिन समुन्द्रको बिचँभागदेखी शूर्य उदाउने र बेलुकि समुन्द्रमानै अस्ताउदथ्यो । तर, त्यसदिन शूर्यको पहिलो किरण पिन्टा जहाजमा पर्ने बितिक्कै, ‘जस्ले पहिले जमिन देख्छ, उसलाई सबैभन्दा राम्रो उनिको कोट दिन्छु,’ भनेर कोलम्बसले उदघोष गरे । उनको उदघोषण सुनेर बिद्रोहिहरु खुशी त भएका थिएनन तै पनि मलिन अनुहार बनाउदै झिनो स्वीकार गरेको उनले चाल पाएँ ।

    बेलुकी सूर्य गाढा रङ्गमा परिणत हुँदै पश्चिम दिशामा अस्ताउँदै थियो । कोलम्बसले ढल्दै गरेको आफ्नो जिन्दगी र अस्ताउँदै गरेको सूर्यलाई निक्कै लामो समय हेरिरहेको थियो । अचानक निलो आकाशदेखि सूर्यलाई ढाक्ने गरेर सयौको संख्यामा हुलका हुल चराका बथानहरु देखा पर्न थालें । लामो समयपछि देखिएको चराहरुले उनलाई थोरै राहत मिल्न पुग्यो ।

    एक्कै जातिका ती पृथक चराहरु शून्य आकाशमा दक्षिण-पश्चिम दिशातर्फ हानिएका उनले आफ्नै आँखाले देख्दा आँखा थोरै रसाएको थियो । चराका हुलले आँखामा आँशु मात्रै होइन मुहारमा थोरै खुशीका लहरहरु पनि पलाएर आएका थिएँ । त्यसरि एक्कासि चराहरु देखिएपछि हामी जमिनको नजिक आइपुग्नै लागेका रहेछौ भन्ने उनले ठोकुवा गरे । त्यसपछी चराहरु उडेर जता गएका थिएँ । उतैतिर जहाज लानको लागि जहाजका कप्तान गार्टिन पिनजोनलाई भने । कप्तान द्वय पिनजोन र उनका भाइ भिसेन्ट क्रमशः पिन्टा र निनाको कप्तानहरु थिएँ ।

    अर्कोरातको समय त्यस्तै बार्ह बजिसकेको हुनुपर्छ । त्यति मध्यरातमा समुन्द्रको बिचँबाट टहटह गर्दै चन्द्रमा उदाउन थाल्यो । निक्कै माथि आइसकेको पुर्ण चन्द्रमाको प्रकाश जहाजले निकालेको ढकलक ढकलक आवाज र पानीको छाल सँगसँगै सुस्तरि बहँदै जान थाल्यो ।

    समय बिहानीको दुई बज्नै लागेको थियो । पिन्टा जहाजमा कामगर्ने एउटा कर्मचारीले एकदम लामो तर सेतासेता समुन्द्रको किनारलाई निक्कै टाढादेखी देखें । महिनौपछि सामुन्द्रिक किनार देखेका मान्छेले अतालिदै ‘जमिन, जमिन, जमिन’ भन्दै एकचोटि डङ्गै तोप पडकाइ पठाए । अचानक रात बिचमा त्यसरि पडकेको तोपले आराम गरिरहेका साथिहरुको सातोपुत्लो उड्यो ।

    सबैजनाले आफ्नो सिधै अगाडि जमिन देख्दा हर्षले बिभोर भएका थिएँ । १२ अक्टोबर १४९२ को लाली प्रभात सँगसँगै तिनैवटा पानी जहाजहरुले सामुन्द्रिक किनार नजिकै पुगेर तीनचोटि तोप पडकाएर खुशि ब्यक्त्त गरे । अचानक पडकेको तोपका आवाज सुनेर स्थानिय मानिसहरु के भयो होला भनेर नाङ्गैभुतुङ्गै त्यहाँ भेला भएका थिएँ । उनीहरु जुन स्थानमा पुगेका थिएँ । त्यसलाई आजभोलि क्यारेबियन टापुहरुको सुन्दर टापु ‘बहामस’ भनेर चिन्ने गरिन्छ ।

    हाम्रा पथप्रर्दशक लुशियानाले कोलम्बसको क्यारेबियन यात्राको शाहसिक कथा सक्ता हामीले नहरमा तीनघण्टा समय बिताइसकेका थियौ । त्यसपछि सुस्तरि मटर चँढेर पानीजहाज समात्नको लागि लिमोन बन्दरगाहतर्फ लागिहाल्यौ ।

    लिमोन हाइवे सुनसान थियो । मटर आफ्नै गतिमा एक रफ्तारले गुडिरहेको थियो । मैले मटरको झ्याल खोलेर क्यारेबियन सागरको पानी निक्कै टाढा सम्म हेरिरहें । हाम्रो पुर्व दिशामा पर्ने स्पेन र पोर्चुगर्लदेखि उदाउँदै आएको सूर्य गाढा रङ्गमा परिणत हुँदै क्युबाको सामुन्द्रिक क्षितिजमा अस्ताउन लागेको देखिन्थ्यो ।

    समुन्द्रमा शूर्य अस्ताएपछि कोलम्बस यात्राको कथाले बढेको मेरो मुटुको धडकनलाई काबुमा राख्न निक्कैबेर सम्म सामुन्द्रिक ज्वारभाटालाई नियालि रहें । हुनत इतिहास पनि अलिक पुरानो हुदै गएपछि एउटा कथा जस्तो हुनेरहेछ भन्ने मेरो मनमा त्यसबेला लागिरहेको थियो । मैल सुनेको त्यो इतिहास आजभन्दा पाँचसय बर्ष अगाडि घटेको थियो, तै पनि त्यस घटनाको पात्रहरुले पाएका कष्टकर जिन्दगीको कल्पनाले मेरो हृदय निश्चयनै क्षत बिक्षत बनाइरहेको थियो ।

    सन् १४९२, १४९३, १४९८ र १५०३ गरेर कोलम्बसले चारचोटि आन्ध्र महासागर पारगरेका थिएँ । र, हरेकचोटि महासागर पार गर्दा उनले क्यारेबियन टापुहरुको मात्र यात्रा गरेका थिएँ । उनी पुगेका क्यारेबियन टापुहरुलाई ‘वेस्ट इन्डिज’ र त्यहाँ बस्ने मानिसहरुलाई ‘इन्डियन’ भनेर उनले युरोपमा राम्रै परिचय दिएका थिएँ ।

    सन् १५०६ मा स्वर्गरोहण भएको कोलम्बसले आफ्नो जिन्दगीमा कहिले पनि उत्तर अमेरिका पुगेनन् । र, सम्भवत उत्तर अमेरिका छ भनेर उनले चालपनि पाएनन् होला ? तर मलाई सबैभन्दा उदेक लाग्ने कुरो चाँही के थियो भने अमेरिकाको हरेक पाठशालाहरुमा अहिलेसम्म पनि कोलम्बसले अमेरिका पत्ता लगाएका थिएँ भनेर सिकाइने गरिन्छ । र, हरेक अक्टोबरको दोश्रो सोमबार ‘कोलम्बस डे’ भनेर छुट्टि दिने प्रचलन पनि रहिआएको छ ।

    यदि सत्यकुरोलाई मान्यता दिने हो भने कोलम्बस कहिलेपनि अमेरिका पुगेका थिएनन् । तर, क्यारेबियन टापुहरु पुग्ने पहिलो युरोपियन हुन भन्नेमा चाँही कसैको दुईमत हुन सक्तैन । बरु उनको सट्टामा भाइकिङ अन्वेषक ‘लिफ एरिक्सन’ चाँही आइसल्याण्ड, ग्रिनल्याण्ड हुदै कोलम्बस भन्दा अझ पाँचसय बर्ष पहिले पुर्वि क्यानडा पुगेका तथ्यहरु फेला परेकाछन् ।

    सायद भाइकिङहरु भन्दा अगाडि चिनियाँ यात्रुहरु पो बिरिङ् जलसंयोजन पार गरेर पश्चिमी अमेरिका पुगेका थिएँ कि ? वा कतै अफ्रिकीहरु पहिले पुगेका हुन् कि ? यदि उनीहरु नपुगेका हुँदो हो त ती आदिबासी इन्डियनहरु चाहिँ कुन ठाँउदेखि आएका होलान् ? नत्र भने उनीहरु को थिएँ ? कहिले आएका थिएँ ? र, कहाँदेखि अमेरिका आएका थिएँ ? अहिलेसम्म मेरो मनमा ‘को पहिले अमेरिका पुगेका थिएँ ?’ भन्ने प्रश्न खड्किरहेकै छ ।

    (लेखक बुईपा, खोटाङका हुन् र हाल उनी बेलायतमा बस्छन् ।)

    – ‘सार्वजानिक डट कम’मा पूर्वप्रकाशित

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै