•            
    • TOKHA LIVE

    • ५ जेष्ठ २०७७, सोमबार ०४:२६

    म गीतको व्यापारी हुँ : अरुण तिवारी

    १. धरातलीय व्यक्ति हुँ

    म आफ्नो धरातलमा उभिएको व्यक्ति हुँ । मलाई ‘हाइफाई’ गर्न आउँदैन र जान्दिनँ । गर्दिनँ पनि । एकदम साधारण मान्छे हुँ । कसैका बारेमा गलत सोचाइ राख्दिनँ, आफ्नो बारेमा पनि अरूले के सोच्लान् भन्ने चिन्ता लिन्नँ । आफूलाई ठीक लागेको काम गर्छु । मेरो कारण अरूलाई दुःख नपरोस् भन्ने मनमा लिइरहन्छु । धेरै सम्पत्ति कमाउने लोभ छैन । साधारण जीवन बाँच्न सकियोस्, योभन्दा अरू केही सोचेको छैन ।

    २. दर्शनबाट प्रदर्शनतिर लागेको छु
    उहिले मेरो गीतमा जीवन–दर्शन समेटिएको हुन्थ्यो । गीत लेख्न बस्दा गहन विषयलाई समेटेर जीवन्त गीत लेख्न मन लाग्थ्यो । लियो टोल्सटोय र एन्टन चेखबको कथाबाट प्रभावित भएकाले मैले लेखेका गीतमा पनि गहन अर्थ लाग्ने शब्द हुन्थे । तर, आजभोलि त्यस्तो हुँदैन । त्यस्ता गहन गीत रुचाइँदैन । त्यसैले अचेल दर्शनबाट प्रदर्शनतिर लागेको छु । बजारको मागअनुसार गीत लेख्ने गरेको छु । सहज शब्दमा रमाइला संवाद गरेको, केही दिन चर्चा हुने र बिस्तारै हराउने खालका गीत लेखनतिर लागेको छु ।

    ३. गीतको व्यापारी हुँ म

    म गीतको व्यापार गर्छु । बजारमा मेरो गीत बेच्छु । अहिलेसम्म एक हजार दुई सयभन्दा बढी गीत रेकर्ड भएका छन् । मैले नै मेरा गीतका नौवटा कलेक्सन एल्बम निकालेँ । तर, अहिले म गीत रेकर्ड गराउँदिनँ, अरूले किनेर गराउँछन् । मलाई खोजेर गीत किन्न आउँछन् । म गीत बेच्छु मात्रै । मेरा अहिले महिनामा कम्तीमा तीनवटा गीत रेकर्ड हुन्छन्, कहिलेकाहीँ पाँचसम्म पुग्छन् । यसरी मैले गीतको व्यापार गरिरहेको छु । बजारमा महँगो गीतकारका रूपमा समेत चिनिएको छु । एउटा गीत औसतमा १५ हजारमा बिक्री गरिरहेको छु । यो मेरो मिहिनेतको मूल्य हो । र, सबैले मिहिनेतको मूल्य पाउनुपर्छ भन्ने लाग्छ । आफ्नो मिहिनेतको मूल्य आफैँ तोक्छु ।
    ४. प्रेममा हारेको व्यक्ति हुँ

    म प्रेममा हारेको व्यक्ति हुँ । एकपटक प्रेममा नराम्रोसँग हारिसकेपछि फेरि त्यस्तै प्रेम गर्न नसकिँदो रहेछ । फेरि प्रेममा नपरेको पनि होइन । तर, पुरानो प्रेम त्यसै याद आइहाल्दो रहेछ । त्यसैले प्रेमलाई सार्थक बनाउन सकिनँँ । खोइ, अरूको कस्तो हुन्छ, मेरो सवालमा भने पुरानो प्रेमले नयाँलाई असर ग¥यो । त्यसैले आफूलाई प्रेममा हारेको व्यक्तिका रूपमा चित्रण गर्छु ।

    ५.मलाई गीतले बचायो

    मेरा लागि गीत जीवन हो । प्रेममा हारेपछि पीडालाई गीतमार्फत पोखेँ । रिस, माया, पछुतो सबै गीतमै मिलाएँ । यसले डिप्रेस्ड हुनबाट जोगायो । मलाई भगवान्ले दिएको एउटा सुन्दर बाटो हो जस्तो लाग्छ, यो । यदि गीत लेख्दिनथेँ भने मानसिक रूपमा असन्तुलित भएर हिँड्थेँ सायद । गीतले आफूसँगै सुन्दर बाटोमा डो-यायो ।

    ६.सिनेमाको मोहभंग

    गीतकार भएपछि सबै किसिमको गीत लेख्नुपर्छ । त्यो गीतकारको क्षमता पनि हो । सिनेमाको कथा सुनिसकेपछि त्यो कथालाई सुहाउँदो गीत लेख्न सक्नुपर्छ । मैले पनि तीन–चार फिल्ममा गीत लेखेँ । तर, हाम्रोमा सिनेमामा गीत लेख्ने वातावरण नै छैन । हिन्दी सिनेमाको कपी लिएर बस्छन्, अनि यो फिल्मका लागि गीत लेखिदिनुप-यो भन्छन् । त्यसैले गीत लेख्नै मन लाग्दैन ।
    त्यसका लागि त गीत पनि हिन्दी फिल्मकै उल्था गरे भइगो नि । उनीहरूलाई त्यही भन्छु । केही साथीहरू नराम्रोसँग रिसाएका छन् । तर, त्यसले मलाई फरक पार्दैन । धेरैजना ‘गीत लेखिदिनुप-यो’ भनेर आए तर मैले मानिनँ । त्यसपछि नेपाली फिल्मको गीत लेख्ने मोहभंग भयो । अहिले मैले फिल्मको गीतको अफर आए पनि लेख्दिनँ भन्ने गरेको छु ।

    गीत लेख्छु, तिनैलाई बेच्छु । गायक तथा संगीतकार गीत खरिद गर्न घरमै आउँछन् । एउटा गीतको औसत १५ हजार लिन्छु । अहिलेसम्म एक हजार दुई सयभन्दा बढी गीत लेखेर बेचेको छु । आजभोलि महिनामा तीनदेखि पाँच गीत बेच्छु, ती रेकर्ड गरिन्छन् । गीत बेचेरै बाँचेको छु, त्यसैले म गीतको व्यापारी हुँ ।

    ७. म अन्तर्मुखी छु

    म अन्तर्मुखी स्वभावको व्यक्ति हुँ । जोकोहीसँग खुल्न सक्दिनँ । नजिकका साथीसँग फेरि एकदम उदांगो हुन्छु । उनीहरूसँग लुकाउनुपर्ने केही पनि हुँदैन । मेरो अन्तर्मुखी स्वभावका कारण मलाई घमन्डी भन्छन् । सबैलाई आफ्नो बुझाइअनुसार सोच्ने स्वतन्त्रता छ । त्यसैले मलाई जस्तो सोचे पनि फरक पर्दैन । कतिले के भन्छन् भन्ने पनि थाहा छ । तर, उनीहरूलाई स्पष्टीकरण पनि दिन्नँ । उनीहरूसँग साधारण सम्बन्ध राख्ने हो, जे सोचे पनि सोचून् भन्ने लाग्छ, वास्ता गर्दिनँ ।

    ८. सिर्जनात्मक गीतकार हुँ

    गीतकार मात्रै बनेर पनि हुँदैन । यो क्षेत्रमा मात्रै नभएर जुनसुकै क्षेत्रमा पनि टिक्नका लागि सिर्जनात्मक हुन जरुरी छ । म सिर्जनात्मक छु भन्ने लाग्छ । सिर्जनात्मक भएर नै त हो महिनामा पाँचवटा गीत बेच्न सकेको । अर्को, गायक तथा संगीतकार मलाई खोज्दै आउँछन् । सिर्जनात्मक क्षमता नहुँदो हो त किन खोजीखोजी गीत किन्न आउँथे त ! हो, म क्रिएटिभ छु भनेरचाहिँ घमन्ड गर्छु नै । त्यसैले अहिलेसम्म गायक अथवा संगीतकारको ढोकामा जानुपरेको छैन ।

    ९. स्पष्टवक्ता हुँ

    मलाई मनमा लागेको कुरा स्पष्टसँग भन्छु । कसैलाई फुक्र्याएर अथवा कसैलाई नभएको आरोप लगाएर गाली गर्नु छैन । मनमा लागेको सीधै भन्छु । कत्तिले चित्त दुखाएर बोल्दैनन् । मलाई फरक पर्दैन । कत्तिले त्यही मनमा लिएर आफूलाई सुधार्ने कोसिस पनि गर्छन् । मान्छेले यथार्थ स्वीकार गर्नुपर्छ भन्ने लाग्छ । त्यसैले कसैलाई पनि नकारात्मक असर गर्छ जस्तो लाग्दैन । स्पष्ट विचारले सबैको भलाइ नै हुन्छ । नराम्रो बानीलाई सुधार्न सहयोग पुग्छ ।

    १०.बुबाको इच्छा पूरा गर्न सकिनँ

    अहिले त आमाबुबा पनि हुनुहुन्न । प्रेममा असफल भएपछि विवाह गर्ने सोच पनि हरायो । बुबालाई चाहिँ विवाह गरिदेओस् भन्ने थियो । ‘बिहे गर छोरा’ भन्नु पनि हुन्थ्यो । तर, बुबाको इच्छा पूरा गर्न विवाह गर्न सकिनँ । यदि मैले बिहे गरेँ भने कसैलाई धोका हुन्छ भन्ने लाग्यो । त्यसैले गरिनँ । अचेल कहिलेकाहीँ बुबाको इच्छा पूरा नगरेकोमा दुःख लाग्छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै