टाेखालाइभ डट कम/पौष १८,२०७८
काठमाडौं । गीतकार तथा साहित्यकार रत्नप्रसाद श्रेष्ठ अनामणिद्वारा लिखित तामाङ सेलो ‘पनौती मकर मेलामा’ बोलको गीत रेकर्डिङ सम्पन्न भएको छ । प्रत्येक बाह्र वर्षको एक पटक आउने काभ्रे जिल्लाको पनौतीमा लाग्ने मकर मेलाको विषयवस्तु गीतमा समेटिएको छ । मकर मेलामा जाँदा मायाप्रीति लगाउन गीतकारले अपिल गरेका छन् । मकर मेलामा जाँदा त्यहिंको योमरी र चटामारीको स्वाद लिँदै माया प्रीति लगाउने भाव गीतमा समेटी गितकारले रोमान्चित शैलीमा गितलाई रचना गरेका छन्।
काठमाडौंको डिल्लीबजारमा रहेको हार्मोनिक स्टुडियोमा गीत रेकर्ड गरिएको हो । यो गीतमा संगीतकार विक्रम थापाले संगीत दिएका छन् । गीतमा पुरुष तर्फको स्वर पनि थापाकै रहेको छ भने केटी तर्फको स्वर बिनुसा राईले दिएकी छिन् ।
गीतले काभ्रेको पनौती र नाला क्षेत्रमा आन्तरिक पर्यटनलाई बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । स्थानीय स्थानहरुको परिचयको सन्दर्भमा गीतमा अनेकौं स्थानका नामहरु लिइएको छ ।
गीतमा भिडियो बनाउन सकेदेखि र स्थानीय सरकारले गीतलाई प्राथमिकता दिएको खण्डमा काभ्रेमा पर्यटकहरुको आगमन बढाउन सकिने देखिन्छ ।
संगीतकार विक्रम थापाले गीत सान्दर्भिक बनेको धारणा राखे । तामाङ सेलोसँग पश्चिम नेपालको संगीत मिसावट गरेर तयार गरेको संगीतमा ६० को दसकतिर सांगीतिक उद्योगमा आएको पप प्याटर्नको मिठास छ । लोकलयका कारण गीत सान्दर्भिकता झन् बढेको छ ।