•            
    • TOKHA LIVE

    • २० चैत्र २०७७, शुक्रबार ०८:१९

    किराँतीहरुले गाउने ‘सोइसोइला’ गीत उत्पत्तिको कथा

    रत्नप्रसाद – अनामणि श्रेष्ठ

    चैत्र २० २०७७, शुक्रबार

    कुनै समयमा काभ्रेको नाला, बनेपाको माथिल्लो क्षेत्रमा ‘बुढाहोपो’ नामका किराँती राजाले शासन गर्थे । ती राजको राज्य सुसम्पन्न र समृद्ध थियो । ती राजा किराँती संस्कृतिको ग्रन्थ मुन्धुमका ज्ञाता थिए । राज्य सम्पन्न भएका कारण ती राजासित ‘होमाचिरी’ नामको सुनको चरा थियो । ‘बुढाहोपो’ राजाले राज्य गर्दैगर्दा एकदिन राजाका भाईहरुले अंश मागे । अंश बण्डाकै कारणले उनीहरुबीच झगडा पनि भयो । उनीहरुबीचको झगडाको मूख्य कारण भने सोही सुनको चरा थियो ।

    होमाचिरी नामको सुनको चरा कसले पाउने भन्नेमा उनीहरुका बीचमा धेरै नै विवाद भएको थियो । आफ्नै कारणले उनीहरुबीच विवाद भएको थाहा पाएपछि होमाचिरीलाई धेरै पिर लाग्यो । यस्तो अवस्था देखेपछि चरालाई लोप हुन मन लायो र लोप भयो । मानिसहरु आजपनि सो चरा काभ्रे नाला वरपर घुमिरहेको विश्वास गर्दछन् । कालान्तरमा ‘बुढोहोपो’का सन्तानलाई ‘बुढाहाङ’ वा ‘बुढाहाङ’ भन्न थालियो । हाल यी दुवै राई जातिमा पर्दछन् । यिनीहरुलाई कसैले ‘बुढाहोङ’ पनि भन्ने गरेको पाइन्छ ।


    वास्तवमा ‘बुढाहाङ’ खसकरण भएर ‘बुढाहाङ’ चाहीँ ध्वनी परिवर्तन भएर यस्तो भएको मानिन्छ । खासगरी सुनुवारहरुले बुढाहाङहरुलाई बनेपा नालाको राजा मानेको पाइन्छ । खासगरी उनीहरुले दोलखाको राजा मानेको इतिहास पाइन्छ । इतिहासमा दोलखा र काभ्रेको नाला क्षेत्रमा किराँतीहरुको शासन रहेको पाइन्छ । भारतबाट आएर किराँतीहरुमाथी हमला गरेका लिच्छबीहरुबाट बच्न किराँतीहरु भागेर बनेपा र दोलखातिर गएको इतिहासमा पढ्न सकिन्छ । खासमा किराँतीहरुले किराँतकालमा काठमाडौं उपत्यकामा लामो समयसम्म शासन गरेको पाइन्छ । पछि लिच्छबीको आक्रमणबाट उनीहरु पराजीत भए ।

    लिच्छबीहरुको आक्रमणबाट भागेर बनेपा पुगेका किराँतीहरु फेरि फर्किन पाइन्छ की भनेर १३ महिनापछि फर्कन खोजे तर उनीहरुलाई तामाकोशी कटाएर छोडियो । यसरी नालामा बसेका किराँतीहरुले नालाहाङबाट ‘नालाङ’ नामाकरण गरेका पनि हुनसक्छन् । किराँतकालमा हालको नालालाई नालाङ भनिथ्यो । हालको दोलखा पनि उतिबेलाको ‘दोलोकुम्मा’ शब्दबाट बनेको पाइन्छ । सुनुवारका अगुवाहरुका दोलखामा अनुसार त्यतिबेला ‘दोक्खा होपो’ नामका राजाले शासन गर्थे । नाला र दोलखामा ‘किराँती छाप’ भन्ने स्थानहरु थिए । पछि नाला नालाछापको रुपमा परिवर्तन भयो भने दोलखामा हालपनि किराँती छाप भन्नु ठाउँहरु छन् ।

    सुनुवारहरुको ग्रन्थ मुन्धुमहरुका अनुसार नाला बनेपा क्षेत्रका राजा बुढाहाङका २ वटी श्रीमती थिए । तीमध्ये एउटीको नाम सिल्टाङ कप्मा र अर्कीको नाम वासाङ कुप्मा थियो । सिल्टाङ कुप्मा रानी सिली टिप्न सिपालु थिइन् । हरेक वर्ष साकेला पर्व मनाउँदा राजा बुढाहाङले श्रीपेच जस्तो पगरी लगाउँथे । सो पगरी उनलाई आफ्नो चेलीले लगाइदिनु पर्ने चलन थियो । सो पगरी ‘सोइसोइला’ भन्ने चेलीले गुथिदिने गर्थिन् । एकपटकको साकेलामा साइसोइलाले पगरी तयार पार्दै थिइन् । जब सो पगरी लगाउने दिन आयो तब ती चेलीलाई मासिक श्राव भयो ।

    उक्त पवित्र कार्यको समयमा मासिक श्राव हुन नहुने थियो । तर के गर्नु त्यो प्राकृतिक नियम थियो । त्यसकारण सोइसोइला लाजले भुतुक्क भइन् र दरबारबाट लोप भइन् । यो घटना पछि राजा बुढाहाङले अलप भएकी आफ्नी बहिनीलाई खोज्न थाले । उनी बहिनीलाई खोज्न जहाँजहाँ गए त्यहाँ त्यहाँ ‘दोलोकुम्मा क्षे सोइसोइला’ भनेर अलाप विलाप गर्न थाले । दोलोकुम्मा भनेको पगरी (श्रीपेच) हो । ‘पगरी टिपेर ल्याइदेउ सोइसोइला’ भनेर लय मिलाएर गाइन्छ ।

    यही गीत नै पछि गएर एउटा गीतको भाकाकोरुपमा विकास भएको हो । अलप भएकी आफ्नी बहिनीको सम्झानामा ‘सोइसोइला’ गीतको रहनी रहन गएको बताइन्छ । खासगरी सुनुवार वा राईहरुका पूर्खाहरुले यस्तो कहानी बताउँदै आएका छन् । यसरी काभ्रेको नाला बनेपा क्षेत्रको एकजना चेलीको सम्झानामा बनेको सोइसोइला गीत पछि विभिन्न भाकाहरुमा पनि गाउने गरेको पाइन्छ ।

    जस्तैः सोइसोइला हो, सोइसोइला, सोइसोइला हो हुर्रे हाहा,

    ढोल बज्यो ढ्याङ ढ्याङ गजैले,
    नाचिमा जाऔं है मजैले
    सोइसोइला हो हुर्रे हाहा ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै