टाेखा लाइभ,भाद्र९ काठमाडौं
बुढानिलकण्ठ नगरपालिकाले ५० बेडको आइसोलेसन बनाउने भएको छ। नगर प्रमुख उद्धव प्रसाद खरेलको अध्यक्षतामा बसेको ५५ औं कार्यपालिका बैठकले बुढानिलकण्ठ नगरपालिका क्षेत्र भित्र कोभिड १९ को बढ्दो संक्रमणलाई मध्यनजर राखि ५० बेडको आईशोलेसन बनाउने निर्णय गरेको हो। हिजो बसेको कार्यपालिका बैठकले बुढानिलकण्ठ नगरपालिका वडा नं. १० स्थीत डिठ्ठा चौरमा निर्माणाधिन क्वारेन्टाइन भवन र वडा नं २ स्थीत बीएमसीएमा पनि आइसोलेसन बनाउने निर्णय गरेको छ ।
आइसोलेसन निर्माण तथा व्यवस्थापनका लागि उपप्रमुख रमादेवी राईको नेतृत्वमा एक समिति समेत निर्माण गर्ने पनि बैठकले निर्णय गरेको छ।बैठकले होम आइसोलेसनमा रहने संक्रमीतलाई नगरपालिकाले पोषण सुरक्षा वापत रु. ४,००० र एक भन्दा बढी संक्रमीत रहेको परिवारलाई पोषण सुरक्षा वापत रु ६,००० एकमुष्ट प्रदान गरिने छ भने संक्रमीतको सहयोगीलाई प्रोत्साहन स्वरुप प्रति परिवार रु २,००० दिने निर्णय गरेको छ।
उक्त कार्यपालिका बैठकले होम आइसोलेसनलाई व्यवस्थित गर्न वडाध्यक्ष वा निजले तोकेको वडा सदस्यको संयोजकत्वमा रहने गरी ३ सदस्यीय एक संक्रमीत वरावर एक व्यवस्थापन समिति निर्माण गर्न लागेको हो। उक्त समितिको अन्य २ सदस्यमा एक जना स्वास्थ्य कर्मी र एकजना संक्रमीतको सहयोगीको रुपमा स्थानीयलाई समेत राखिने साथै आइसोलेसन सहयोगी संक्रमितको आबश्यकता र सरसल्लाहमा तोकिने निर्णय गरेको छ ।
पछिल्लो समय बुढानिलकण्ठ नगरपालिका भित्र १००९ जनाको पिसिआर टेस्ट गरिएको छ भने जम्मा संक्रमीतको संख्या १३० पुगेको जानकारी दिदै नगर प्रवक्ता नवराज भट्टराईले मंगलबार बुढानिलकण्ठ नगरपालीकाको ४ स्थानबाट ४०० जनाको पिसीआर टेस्ट गर्ने समेत बैठकले निर्णय गरेको बताएको छ।