•            
    • Hikmat Dangol

    • ४ भाद्र २०७७, बिहीबार १८:५७

    जीवन देखि लखतरान हुनुहु्न्छ भन्ने जानुस यि विश्व सम्पदा सुचीमा घुम्न :-

    • बाबुराम घिमिरे PHD SCHOLAR

    नेपाली कलाको महत्व दर्शाउने उद्देश्यले विश्व सम्पदा सूची सँग जोडेर, नेपाली कलाको बारेमा सबैलाई स्मरण गराउनु चाहन्छु | मैले यहाँ कला र संस्कृतिलाई मात्रै उल्लेख हुनाले, भौगोलिक सम्पदालाई यहाँ समावेश गरेको छैन | सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज पनि सम्पदा सूचीमा रहेका छन् | जसको बारेमा यहाँ व्याख्या गरिने छैन | यति धेरै संख्यामा विश्वसम्पदा सूचीमा पर्न को मूल कारण हो ? नेपाली कलाले संस्कृतिमा पारेको प्रभाव नै हो | वास्तवमा कला संस्कृति भनिन्छ के एउटै हो? होइन नेपाली कला विश्वमा अनौठो कला भित्र पर्दछ | अक्षरको विकास भन्दा पनि पहिला नै कलाको विकास भैसकेको थियो | समाज विकासको क्रममा गुफामा बास हुँदा, सिकार खेल्न जान नसकेका अलिअसक्षम हरु चाहिँ अनेक प्रकारका चित्रहरु कोर्दा-कोर्दै कलाको विकास भयो | त्यही कला र संस्कृति आज विश्व सम्पदा सूचीमा पर्न गएको छ | यिनीहरूको बारेमा छोटकरीमा तल उल्लेख गरिएको छ |

    विश्व सम्पदा सूची : संयुक्त राष्ट्र सङ्घिय अङ्ग युनेस्को द्वारा बहुमूल्य सम्पदाका रूपमा सुचिकृत विश्वका स्मारक र स्थानहरूलाई युनेस्को विश्व सम्पदा क्षेत्र भनिन्छ । यूनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तै वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा शहर) धरोहरहरुलाई आफ्नो सुचिमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समिति द्वारा चयन गर्ने गरिन्छ र यसै समितिले यस सम्पदा क्षेत्रलाई रेखदेख युनेस्कोको तत्वाधानमा गर्दछ । यस कार्यक्रमको उद्देश्य विश्वको यस्तो स्थलहरुलाई सूचीबद्ध गर्ने तथा संरक्षित गर्ने हुन्छ जुन विश्व संस्कृतिको दृष्टिले मानवताको लागि महत्वपूर्ण हुन्छ । प्रत्येक सम्पदा क्षेत्र त्यस देशको विशेष सम्पति हुन्छ, जुन देशमा त्यो स्थल रहेको हुन्छ तर अन्तर्राष्ट्रिय समुदायको हितमा पनि यहि बेश हुन्छ कि आउने पिढीलाई तथा मनावताको हितको लागि पनि यस्ता विशेष सम्पदाको संरक्षण गरियोस । तथापि पुरै विश्व समुदायलाई यसको संरक्षणको जिम्मेवारी रहन्छ |

    सूचीकृत प्रक्रिया: कुनै पनि देशले सर्वप्रथम आफ्नो महत्वपूर्ण सांस्कृतिक र प्राकृतिक सम्पदाको एउटा प्रारम्भिक सूची बनाउनु पर्ने हुन्छ । यो आवश्यक छ, किन भने त्यो राष्ट्रले यस्तो कुनै सम्पदालाई नामाङ्कन नगरोस जसको नाम त्यस सुचिमा पहिले देखि नै सम्मलित छैन अर्को त्यस राष्ट्रले यस सुचि मध्ये कुनै सम्पदालाई चयन गरेर नामाङ्कन फाइलमा हाल्न सक्छ । विश्व सम्पदा समितिले कुनै पनि राष्ट्रलाई फाइल बनाउदा चाहिएको सल्लाह तथा सहयोग गर्ने कार्य गर्दछ । त्यस फाइललाई स्वतन्त्र रुपले दुई सङ्गठनहरु अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद तथा विश्व संरक्षण संघद्वारा मुल्यांकन गर्ने गरिन्छ । यस संस्थाहरुले पछी विश्व सम्पदा समितिलाई सूचीको सिफारिश पठाउछ । समितिको बैठक वर्षमा एक पटक हुन्छ जसमा नामांकित सम्पदालाई विश्व सम्पदा सूचीमा राख्ने अथवा नराख्ने भन्ने बिषयमा निर्णय गर्ने गरिन्छ ।

    विश्व सम्पदा सूचीमा नेपाल: काठमाडौं दरवार क्षेत्र – यो क्षेत्र काठमाडौं नगरको मध्यमा छ । हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा महत्वपूर्ण स्मारकमा तलेजु मन्दिर,जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डपलगायत मुख्य आकर्षणका स्मारक हुन् ।

    पाटन दरवार क्षेत्र – कलाको शहरका रूपमा परिचित पाटन दरवार क्षेत्रमा रहेका स्मारक अधिकांश १६ औँ देखि १८ औँ शताब्दीसम्म निर्माण गरिएका हुन् । प्रायः राजा सिद्धिनरसिंह, श्रीनिवास र योगनरेन्द्र मल्लले निर्माण गर्न लगाएका थिए । मूलचोक, सुन्दरीचोक, मणिकेशवनारायण चोक, भीमसेन मन्दिर, कृष्ण मन्दिर, तलेजु मन्दिर, कुम्भेश्वर लगायतका मुख्य आकर्षणका क्षेत्र हुन् । ढुङ्गाबाट निर्मित कृष्ण मन्दिरको वरिपरि रामायण र महाभारतका दृश्य कुँदिएका छन् ।

    भक्तपुर दरवार क्षेत्र – भक्तपुरको मुख्य नगर राजा आनन्ददेवले स्थापना गर्न लगाएको गोपालराज वंशावलीमा उल्लेख छ । तैपनि यो शहर लिच्छविकालीन हुनसक्ने अनुमानसमेत गरिएको छ । सिंहद्वार, स्वर्णद्वार, चारधाम, ५५ झ्याले दरवार, तौमडी, न्यातपोल मन्दिर, दत्तात्रेय मन्दिर, पूजारीमठ आदि हेर्न लायक छन् । यहाँका प्रमुख स्मारकमा सिंहद्वार, स्वर्णद्वार, चारधाम, पचपन्न झ्याले दरबार, तौमढी, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिर, पूजारी मठ, भूपतेन्द्र मल्लको सालिक आदि रहेका छन् । यहाँको पचपन्न झ्याले दरबार त राजा यक्ष मल्लको समयमा सन् १४२७ मा बनेको र सत्रौं शताब्दीमा आएर राजा भूपतेन्द्र मल्लका पालामा पुनर्निर्माण गरिएको हो । कला सङ्ग्रहालय यहाँको अर्को उल्लेख थलो हो ।

    पशुपतिनाथको मन्दिर – विश्वभरिका हिन्दूको पवित्रस्थलका रूपमा रहेको पशुपतिनाथ मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । भारतको चार धामको दर्शनपछि पशुपतिनाथको दर्शन गरेमात्र चारधामको दर्शन पूरा हुने मान्यता रहेको सो मन्दिर राजा भूपालेन्द्र मल्लले निर्माण गर्न लगाएको मानिन्छ ।

    स्वयम्भूनाथ – काठमाडौं उपत्यकाको पश्चिमतर्फको पद्मकण्ठ गिरि पहाडको थुम्कोमा रहेको स्वयम्भूनाथ अति प्रसिद्ध बौद्ध मन्दिर र चैत्य हो । ३६० वटा खुड्किलो पार गरेपछि स्वयम्भूनाथको महाचैत्यमा पुग्न सकिन्छ । लिच्छविकालमा निर्माण गरिएको स्वयम्भू क्षेत्रमा थप्रै स्तुप छन् ।

    बौद्धनाथ – काठमाडौंको बौद्धमा रहेको ३६ मिटर अग्लो बौद्धनाथ स्तूप दक्षिण एसियाकै ठूला स्तूपमध्ये एक हो । मण्डल आकारमा रहेको बौद्धनाथ स्तुपको निर्माण पाँचौं शताब्दीमा भएको हो । आठौँ शताब्दीमा यसको जीर्णोद्धार गरिएको थियो । पाँचौ शताब्दीमा अर्थात् लिच्छविकालमा निर्माण गरिएको बौद्धनाथ निर्माण गर्दा १२ वर्ष लागेको बताइन्छ ।

    चाँगुनारायण मन्दिर – भगवान विष्णुको मन्दिरका रूपमा रहेको चाँगुनारायणको निर्माणका बारेमा आजसम्म पनि तथ्य फेला पर्न सकेको छैन । विष्णुको मन्दिरको रूपमा रहेको चाँगुनारायणको निर्माण चौथौ शताब्दीमा भएको बताइन्छ । यहाँ रहेको शिलालेखले यो मन्दिर काठमाडौं उपत्यकाका पुराना मन्दिरमध्ये एक रहेको जनाउँछ । यहाँका प्रस्तर, काष्ठ तथा धातुकला उदाहरणीय छन् । यहाँका उल्लेख्य कलामा विश्वरूप, विष्णु विक्रान्त, नरसिंह विष्णु आदि रहेका छन् ।

    लुम्बिनी – ईशापूर्व ६२३ मा बुद्ध जन्मिएको स्थल । काठमाडौंबाट करिब तीन सय किलोमिटर दक्षिण-पश्चिममा अवस्थित लुम्बिनीका प्रमुख सम्पदामा मायादेवी मन्दिर, अशोक स्तम्भ, शाक्य पुष्करिणी तलाउ आदि रहेका छन् । यहाँ विभिन्न मित्रराष्ट्रले बौद्ध स्तूप निर्माण गरेका छन् । यहाँ सङ्ग्रहालय र अनुसन्धान केन्द्र पनि रहेको छ ।
    अन्तमा: नेपाली कला जति उत्कृष्ट छ, त्यति नै यसको क्षेत्र विशाल छ | नेपालीले नेपाललाई चिन्न तथा अरूको सामु नेपालको परिचय दिन नेपाली कलालाई पनि अघि सार्नै पर्छ | नेपाली कला नेपाल र नेपाली मात्रको सभ्यताको प्रतीक तथा सांस्कृतिक सम्पदा हो | नेपाली कला भन्नेबित्तिकै यसका विभिन्न अंगहरु छन् | तीमध्ये वास्तुकला, मूर्तिकला र चित्रकलाको त्रिवेणी बन्दछ | उहाँहरूको विवेचना जति गरेपनि थोरै कुनै हुन्छ | पासण, पत्थर, ढुङ्गा, शीला, माटो, हाड, हस्ति हाडलाई मूर्तिमा प्रयोग गरेर मूर्तिकला नै नेपाली कलाको छुट्टै विशेषता विशेषता हो | पुरातात्विक उत्खनन भएमा त झन यसको महत्व वृद्धि हुन्छ |


    यस वाहेक नेपालले १५ वटा विभिन्न सम्पदालाई विश्व सम्पदा सूचीमा समावेश गर्न युनेस्कोसमक्ष आग्रह गरेको छ । यी सम्पदाका बारेमा भने निर्णय हुन बाँकी छ । नेपालद्वारा प्रस्तावित सम्पदा हुन्:-पनौतीको मध्यकालीन वास्तुकला क्षेत्र – (सन् १९९६, प्राचीन शाक्य अधिराज्यका पुरातात्विक अवशेष रहेको तिरौलाकोट – (सन् १९९६), मुस्ताङको मुक्तिनाथ उपत्यकाको गुफा वास्तुकला – (सन् १९९६), गोरखास्थित मध्यकालीन दरबार क्षेत्र – (सन् १९९६), रामग्राम – (सन् १९९६), खोकना – (सन् १९९६), लो मान्थाङ – (सन् २००८), बज्रयोगिनी र साँखुका प्रारम्भिक बस्ती – (सन् २००८), कीर्तिपुरको मध्यकालीन वस्ती – (सन् २००८), रूरू क्षेत्रको ऋषिकेश हाता – (सन् २००८), नुवाकोट दरबार क्षेत्र – (सन् २००८), रामजानकी मन्दिर – (सन् २००८), तानसेनको मध्यकालीन नगर – (सन् २००८), सिंजा उपत्यका – (सन् २००८) र दैलेखेको भुर्ती मन्दिर क्षेत्र – (सन् २००८) उल्लेख गरिएका सम्पदाहरु सबै कला र संस्कृति सम्बन्धित छन् | यसबाट प्रष्ट हुन्छ कि कला र संस्कृति देश को लागि कति महत्वपूर्ण हुन्छ ? र विश्वका लागि कति महत्वपूर्ण हुन्छ ? यो सम्पत्ति देशको मात्र नभई विश्व को सम्पत्ति हो भनेर नै विश्व सम्पदा सूचीमा राखिएको हो |

    थुप्रै मूर्ति र कलाहरु खेतका गराहरुमा, ढलका छेउमा, पर्खालका ढुंगाहरु का रुपमा पनि लिएका छन् | जब यसले इतिहासका पानाको रुपमा काम गर्दछ, सभ्यता र संस्कृति बुझाउँदछ, पश्चिमी कला संस्कृतिको प्रभावमा हाम्रा संस्कृतिहरू बिर्सदै गएको स्पष्ट हुन्छ | संसारभरि युद्ध हुँदै जाँदा सरकारहरू बदलिँदै जान्छन् | सरकार बदलिँदा त्यहाँको कला संस्कृति बदल्नै पर्छ भन्ने छैन | मूर्तिकला हरु, काष्ठकला हरु, धातुकला हरुलाई तोडमोड गर्नेपर्ने, उखाल्ने गरेका घट्नाहरु, संसारभर सुनिन्छ | यो एकदमै नराम्रो र पश्चगमन कार्यक्रम हो | अग्रगमन प्रतिको इतिहासलाई जम्मा गर्ने, विचारलाई बदल्ने, भौतिक विचारलाई बुझ्न नसकल्ने, भौतिक चिज सही ठाउँमा, आफ्नो ठाममा खुसी रहेको छ, तर हाम्रो दिमागलाई हामी तोडमोड गर्न तल्लीन भइरहेका छौं | किरातकालिन, लिच्छविकालीन, मल्लकालीन, राणाकालीन ईतिहास थियो र इतिहासको कुरा गर्न पाइरहेका छौं | यदि विनाश गर्दै जाने हो भने त संसारमा त्यो बेलाको भन्दा अरु कुनै घटनाहरु र इतिहास नै हुँदैन | जसले गर्दा खेरी बिज्ञान-प्रबिधिलाई खोजमा चुनौती प्रदान गर्दछ | तसर्थ देशभरि छरिएर रहेका कलासंस्कृतिलाई शिक्षित र विज्ञ भन्नेहरुले, गहिरो दिमागले सोच विचार गरेर, ति स्थानहरूको स्थलगत भ्रमण गरी विचार बनाउ | यसलाई उत्थान, उत्खनन् र संरक्षण गर्न सकियो भने, हाम्रो देशको बिकास अवश्य हुन्छ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु र भ्रमण गरिदिनु हुन सम्पूर्णमा अनुरोध गर्दछु |

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै