•            
    • TOKHA LIVE

    • २४ फाल्गुन २०७९, बुधबार १५:०५

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा टोखामा निःशुल्क स्वास्थ्य शिविर

    टाेखालाइभ डट कम/२४ फाल्गुन २०७९

    टोखा नगरपालिकाले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नगरपालिकाले धापासी स्वास्थ्यचौकी र ग्रीनलाइफ हेल्थ केयरको प्राविधिक सहयोगमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य शिविरको उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले महिला आन्दोलनबाट प्राप्त अधिकारलाई रक्षा गर्ने प्रमुख जिम्मेवारी महिलाकै भएको बताउनुभयो । महिला आन्दोलनका कारण देशले महिला राष्ट्रपति पाएको उहाँको भनाइ थियो ।“मङ्गलादेवी सिंह, साहना प्रधानलगायतले नेपालमा महिला हकअधिकार रक्षाका लागि सङ्घर्ष गरेको कारण अहिले देशका हरेक स्थानमा महिला सहभागीता बढेको छ”, उहाँले भन्नुभयो । टोखा नगरपालिकाले स्वास्थ्य र शिक्षालाई निःशुल्क गर्नका लागि विभिन्न कार्यक्रम अगाडि सारेको उहाँको भनाइ थियो । टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले महिला सशक्त भएमात्र देशको विकास हुने बताउनुभयो । तेत्तिस प्रतिशत अधिकार महिला आन्दोलनका कारण प्राप्त भएको उहाँको भनाइ थियो । उपप्रमुख तामाङले नगरपालिकाभित्रका महिलाको निरन्तर स्वास्थ्य परीक्षण गर्ने बताउनुभयो । ग्रीनलाइफ हेल्थ केयरका डा क्षितिज सापकोटाले ग्रीनलाइफ हेल्थ केयरलाई सामुदायिक अस्पतालका रुपमा विकास गर्न लागिएको बताउनुभयो ।

    टोखा नगरपालिका वडा नं ७ का वडाअध्यक्ष नरोत्तम रानाले निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत स्त्रीरोग विशेषज्ञ परामर्श, पाठेघर मुखको क्यान्सर जाँच, प्रयोगशाला जाँच, भिडियो एक्सरे र औषधि वितरण निःशुल्क रुपमा गरिने जानकारी दिनुभयो । आज हुने निःशुल्क महिला स्वास्थ्य जाँचमा टोखाभित्रका दुईसय १४ महिलाले नाम दर्ता गरेको महिला शाखाकी अधिकृत विमला वाग्लेले जानकारी दिनुभयो ।- (रासस)

    फाेटाे सौजन्य / हरिराम भेटुवाल

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै