•            
    • TOKHA LIVE

    • १३ असार २०७७, शनिबार १९:५८

    बुबाको सपना पुरा गरे।

    • अञ्जु श्रेष्ठ (नेपाली महिला भलिबल टोलीकी पुर्व कप्तान)

    टाेखा लाइभ,काठमाडौं

    मेरो जन्म २०३४ सालमा ललितपुरको मानभवनमा भएको हो । बुबा लक्ष्मी नारायण श्रेष्ठ भलिबल प्रशिक्षक हुनुन्थ्यो । बुबाले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरमा सिकाउनु हुन्थ्यो । जावलाखेल भलिबल ट्रेनिङ सेन्टर घर देखि नजिकै थियो ।

    म बुबासँग प्रशिक्षणमा जान्थें र खेल्ने गर्दथें । म सानै थिएँ । भलिबल २०५० साल देखि नियमित अभ्यास गर्न थाले । त्यो बेला म ८ कक्षामा पढ्थें । घरमा पनि भलिबल खेलाडी आउने जाने गर्दथे । भलिबलमा प्रेरित हुनुमा बुबाकै हात छ । जावलाखेल भलिबलको जग भएको हुँदा पहिला देखिनै एउटा छुट्टै क्रेज थियो । मैले सानै देखी त्यहिँ ट्रेनिङ गरे । त्यहिँबाट खेले ।

    मदन स्मारक स्कुल पढेको हुँ । २०५१ सालमा विरेन्द्र शिल्ड प्रतियोगिता खेलें । भलिबल खेल्नको लागिनै मदन स्मारक स्कुल रोजेको थिएँ । २०५३ सालमा धनगढीमा भएको दशौं राष्ट्रिय भलिबलमा जयन्ती जोशीको कप्तानीमा उपाधि जित्न सफल भयौं । म उत्कृष्ट अलराउन्डर खेलाडी घोषित भएको थिएँ ।

    मेरो बुबाको एउटा सपना थियो । नेपालमा महिला भलिबलको राम्रो स्कोप छ र दक्षिण एसियाली खेलकुदमा पहिलो अन्तर्राष्ट्रिय पदक ल्याउन सक्छन् । यहि सपनाका साथ धेरै मिहिनेत गर्नु भएको थियो । उहाँले त्यहि सपनाका साथ जावलाखेलमा ट्रेनिङ गराउँनुहुन्थ्यो । त्यसैले गर्दा हामी राम्रो प्रशिक्षण र सेवा सुविधाका साथ गएको हुँदा स्वर्ण जित्न सफल भयौं । त्यो क्षण एकदमै खुसि र गर्व महसुस हुन्छ । त्यहाँ हामीले महिला टोलीले अवसर पाएँमा अन्तर्राष्ट्रिय पदक ल्याउन सकिन्छ भन्ने प्रर्दशन गरेका थियौं ।

    सन् १९९८ मा श्रीलंकामा पाँच टोलीको सहभागिता रहेको रुपाबाहिनी सुपर लिग भलिबलमा म पहिलो पटक राष्ट्रिय टोलीमा परें र कप्तानी गरें । श्रीलंका हामी भन्दा धेरै बलियो टोली थियो । माल्दिभ्सलाई हराएका थियौं । पहिलो पटक कप्तानीमा देशबाहिर गएर अनुभव ल्याउने अवसर पाएँ । बलियो टोलीसँग खेलेका थियौं । उनीहरुबाट धेरै कुरा सिक्न पायौं ।

    सन् १९९९ मा काठमाडौंमा भएको आठौं साफमा सुष्मा दिदी कप्तान हुनुभयो । म खेलाडी थिएँ । आठौं साफ हाम्रो नेपालले महिला टोली पहिलो पटक सहभागिता भएको थियो । हामीले बंगलादेशलाई हराएर ऐतिहासिक कास्य पदक जित्यौं । जुन महिला भलिबलमा पहिलो अन्तर्राष्ट्रिय पदक थियो ।

    सन् २००६ मा नेपालमै भएको दशौं साफमा कप्तानी गरेको थिएँ । कास्य जित्यौं । बीच भलिबल पनि खेले । सन् २००४ र २००५ मा बंगलादेशमा भएको पेप्सी बीच भलिबलमा कप्तानी गर्दै स्वर्ण पदक जितेका थियौं । २००४ को बीच भलिबलमा उत्कृष्ट प्लेयर घोषित भएँ ।

    म जावलाखेल र मध्यमाञ्चलबाटै खेले । नेपाल कमर्सबाट कलेज स्तरिय खेलेको थिएँ । म प्राय कप्तान हुन्थें । २०५९ सालमा पोखरामा भएको १२ औं वुमन्स तथा २१ औं पुरुष प्रतियोगितामा उत्कृष्ट ब्लकर र प्लेयर चुनिएँ । २०६१ सालमा नयाँ बसपार्कमा भएको राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्लेयर घोषित भएँ ।

    २०६२ सालमा काठमाडौंमा भएको ५९ औं ज्ञानेन्द्र विर विक्रम शाह शुभजन्मोत्सव कपमा उत्कृष्ट खेलाडी घोषित भएँ । मेरो राष्ट्रिय खेलको सुरुवात र अन्त्य दुवै धनगढीबाटै भयो । धनगढीमामा भएको छैटौं वृहत राष्ट्रिय खेलकुदपछि सन्न्यास लिएको थिएँ ।

    भलिबलबाट धेरै कुरा सिकें । बुबाको देशका लागि पदक जित्ने सपना पुरा गर्नुनै भलिबलमा सबैभन्दा ठुलो उपलब्धि र खुसी हो । दुर्भाग्य हामीले आठौं साफमा कास्य जित्नुअघि नै २०५५ सालमा बुबाले संसार छाड्नुभएको थियो । त्यसैले बुबाले नेपाली महिला भलिबल टोलीले जितेको पहिलो ऐतिहासिक पदक देख्न पाउनु भएन ।

    भलिबल टिम खेल हो र जितको लागि टिमको एकताको आवश्यक पर्छ । मैले बंगलादेशविरुद्ध पदक जितेको खेलमा लगातार ३–४ प्वाइन्ट बटुल्दै कास्य जितेका थियौं । भलिबलले नाम दियो । आज मलाई जतिले चिन्छन् त्यो भलिबलकै कारण हो । जीवन शैली सिकायो । आत्माविश्वासी बनायो ।

    आठौं साफमा कास्य जित्दा राजा विरेन्द्रबाट गोर्खा दक्षिण बाहुबाट सम्मानित हुन पाएँ । हामीले पहिलो कास्य जित्दाको क्षण बुबाले देख्न पाउनु भएन, यो चाहिं साह्रै नरमाइलो लाग्छ ।

    नेपालमा महिला भलिबल उहाँको एउटा परिकल्पना हो । सायद बुबाले सुरुवात नगरेको भए भलिबल पुरानै स्थानमै रहन्थ्यो होला । भलिबल आज राष्ट्रिय खेल भएको छ । पछिल्लो समय राम्रो गति पनि लिएको छ । यो सब बुबाले देख्न पाउनु भएको भए कति खुसी हुनुहुन्थ्यो होला । बुबाको सपना पूरा गरेपनि उहाँलाई देखाउन पाइन, भलिबलमा नराम्रो लाग्ने यहि हो ।

    पहिला भलिबल खेल एकदमै कम हुन्थ्यो । अहिलेको रफ्तारमा प्रतियोगिता भएको भए हामी धेरै माथि जान सक्थ्यौं होला । अहिले विभागमा अनुबन्धन हुन्छन् र सबै सुविधा पाउछन् । त्यो बेलामा त्यस्तो थिएन । बाहिरबाट आएका खेलाडी कोठा लिएर होस्टेल बसेर मिहिनेत गर्दथे । अहिले भलिबलले जुन गति लिएको छ त्यो एकदमै राम्रो छ । तर अझै हुनुपर्ने विकास भने भएको छैन ।

    हाम्रै स्तरका विदेशी टोलीहरु योजना र सोचका साथ अघि बढेका छन् । तर नेपालमा भएको छैन । विभागिय टोली बाहेक अन्यको अवस्था पुरानै छ । स्थानियस्तरमा राम्रो स्तरको बलकै लागि समस्या छ । शहरका टोली हेरेर मात्र हुँदैन । ग्रामिणमा त अवस्था दयनियनै छ ।

    म दुई दशक अघि म्याग्दीको पर्वतमा खेल्न जादा त्यहाँका खेलाडीसँग जुत्ता र लगाउने किट हुँदैन थियो । गाउँमा अहिले पनि अवस्था त्यस्तै छ । हामीले ग्रासरुटदेखि परिवर्तन गर्नुपर्छ । अन्यथा हामी माथि उठ्न सक्दैनौं । अर्कोतर्फ हरेक खेलाडीलाई खेल जीवनपछि पनि भविष्य राम्रो छ भन्ने वातावरण देखाउन सक्नुपर्छ ।

    बुबाको निधनपछि लक्ष्मी नारायण श्रेष्ठ भलिबल मेमोरियल ट्रष्ट खोलेका छौं । विनोद सिंह बनेतको अध्यक्षतमा २०५८ मा दर्ता गर्‍यौ । अहिले लक्ष्मी नारायण ट्रष्ट मेरो अध्यक्षतामा अघि बढाइरहेका छौं । यसबाट हामीले विभिन्न कार्यक्रम गर्दै आएका छौं । राष्ट्रिय वर्षको उत्कृष्ट खेलाडीलाई प्रोत्साहन गर्नको लागि हामीले नगद पुरस्कार प्रदान गर्दै आएका छौं । यसले नयाँ खेलाडी पहिचान गर्नको लागि ट्यालेन्ट हन्ट जस्ता आयोजना पनि गर्दै आएका छौं ।

    अहिले जावलाखेल भलिबल सेन्ट्ररमा प्रशिक्षकको काम गरिरहेको छु । भलिबलमा नयाँ राम्रो खेलाडी दिन प्रयास गर्ने छु । जावलाखेल भलिबल ट्रेनिङ सेन्टर त मेरो घर, परिवार, सबै हो । सानै उमेर देखी अहिले सम्म जावलाखेलमा छु । दिउँसभर त्यहि बिताउँछु । त्यहि जावलाखेलको कारण म आज अञ्जु भनेर चिनिन्छु ।

    बुबाले जग बनाउनुभएको छ । । मैले त्यसैको विकास र बिस्तारलाई ध्यान दिने छु । आफुले सक्दो भलिबलमा सहयोग गर्ने छुँ । जहाँ खेल हुन्छ म त्यहाँ जान्छु । राष्ट्रिय रेफ्री पनि हुँ । भलिबलबाट टाढा रहन सक्दैन । विवाहपछि कतिपय खेलाडीले भलिबल छोड्छन् । मैले विवाहपछि पनि परिवारको राम्रो साथ पाएँ ।

    जुन माया र नाम पाएको छु त्यो अरु क्षेत्रमा लागेको भए सायदै पाउथें होला । भलिबल मेरो लागि एक परिवारको रुपमा रहेको छ । श्रीमानको साथले पनि मलाई अगाडी बढ्न धेरै मदत पुगेको छ । मैले भलिबल बाहेक अरु जीवनमा केहि पनि सोचिन । भलिबलबिना मेरो जिन्दगी पूरा हुन पनि सक्दैन । मलाई यस अवस्थामा पुर्‍याउन विशेष सहयोग मेरो भाई अनुप श्रेष्ठ र परिवार, सम्पुर्ण गुरुहरु, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर परिवार र नेपाल भलिबल संघलाई विशेष धन्यवाद दिन चहान्छु ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै