एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण पछिल्लो तीन महिना खेलकुदको कुनै गतिविधि नहुदा विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गर्ने वरियता यथावत रहेको छ ।
फिफाको नियमअनुसार मार्च र जुनमा अन्तर्राष्ट्रिय खेल हुने तालिका पर्दछ । तर, कोरोनाका कारण सम्पूर्ण खेलहरु रद्द भएपछि वरीयता पनि स्थिर नै हुन पुगेको हो । नेपालले कतार विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको दोस्रो चरणमा घरेलु मैदानमा तीन खेल खेल्न बाँकी छ । मार्चमा दुई (अष्ट्रेलिया र चाइनिज ताइपेइ) तथा जुनमा एक (जोर्डन) विरुद्ध खेल खेल्ने कार्यक्रम रहेपनि कोरोनाका कारण स्थगित छन् ।
एसियल फुटबल कन्फेडेरेसन (एएफसी) ले आउदो अक्टोवर र नोभेम्वरमा विश्वकप छनोटका बाँकी रहेका खेलहरु खेलाउने तयारी गरेको छ । छनोटमा नेपालले चाइनिज ताइपेइमाथि जित दर्ता गर्दा कुवेतसँग दुवै खेलमा हार बेहोरेको छ । अष्ट्रेलिया र जोर्डनसँग पनि पराजित भएको छ ।
नेपाल फिफा वरियताको १ सय ७० औं स्थानमा यथावत छ । दक्षिण एसियाली राष्ट्रमा भारत १ सय ८ स्थानमा रहँदा माल्दिभ्स १ सय ५५ औं स्थानमा छ । नेपालभन्दा पछाडि बंगलादेश १ सय ८७, भुटान १ सय ८९, पाकिस्तान २ सय र श्रीलंका २ सय ६ औं स्थानमा छन् । एसियाली राष्ट्रमध्य शीर्षस्थानको जापान विश्व वरीयतामा २८ औं स्थानमा छ ।
विश्व वरियतामा बेल्जियमले नै शीर्षस्थान यथावत छ । दोस्रो स्थानमा फ्रान्स र तेस्रोमा ब्राजिल रहेका छन् । त्यसपछि इंग्ल्यान्ड र उरुग्वेले क्रमशस् शीर्ष ५ स्थान ओगटेका छन् । शीर्ष १० स्थानमा क्रोएसिया, पोर्चुगल, स्पेन, अर्जेन्टिना र कोलोम्बिया रहेका छन् ।