टाेखा लाइभ, जेठ २५ काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । धनगढी ४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मिर्गौलाको समस्या भएकी ५५ वर्षीया महिलाको धनगढीको सेती अस्पतालमा डायलासीस गराउँदै गर्दा शुक्रबार मृत्यु भएको प्रवक्ता देवकोटाले बताए । मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । जसमध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला रहेका छन् । यससँगै कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । जसमध्ये ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिला रहेका छन् । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना निको भएर घर फर्किएका छन् । उनीहरुमध्ये ५ जना महिला र २७ जना पुरुष रहेका छन् । यससँगै कुल निको हुनेको संख्या ३ सय ६५ पुगेको छ ।
अहिले सम्म कोरोना भाइरसको आशंकामा कुल ९२ हजार ४ सय ७७ पीसीआर परीक्षण भएको छ । त्यस्तै १ लाख ३७ हजार ४ सय ३५ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १ सय ११ पीसीआर परीक्षण भएको छ भने ५ हजार ५ सय ७० आरडिटी परीक्षण भएको छ ।
देशभर १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये प्रदेश १ मा ४ हजार ३ सय ३ जना, प्रदेश २ मा २१ हजार ९२ जना, बागमती प्रदेशमा ३ हजार ५ सय १३, गण्डकी प्रदेशमा ५ हजार ३ सय ९८, प्रदेश ५ मा ४१ ह्जार २ सय १७, कर्णाली प्रदेशमा ३२ हजार २ सय ६५ जना र सुदूरपस्चिम प्रदेशमा ६० हजार २ सय ४३ जना क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै देशभर २ हजार ८ सय ५७ जना संक्रमितको आइसोलेसनमा उपचार भइराखेको छ । प्रदेश १ मा १ सय ७० जना, प्रदेश २ मा ९ सय ४३ जना, बागमती प्रदेशमा ५५ जना, गण्डकी प्रदेशमा ७० जना, प्रदेश ५ मा ९ सय ६१ जना, कर्णाली प्रदेशमा ५ सय ६७ जना र सुदूरपस्चिम प्रदेशमा ९१ जनाको आइसोलेसनमा उपचार भइराखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।