•            
    • Sanu Raj Dangol

    • २४ जेष्ठ २०७७, शनिबार ०८:०७

    कोरोना भाइरसको औषधिको परीक्षण प्रक्रिया सुरु।


    टाेखा लाइभ,२०७७ जेठ २४

    हेटौंडा । कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रलयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन् ।

    उनले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा आजबाट औषधिको औपचारिक तथा कानुनी परीक्षणको प्रक्रिया प्रारम्भ गरेका हुन् । औषधिका सम्बन्धमा मन्त्री युवराज दुलालले आज प्रदेशका विज्ञ तथा देशका प्रतिष्ठित वैज्ञानिकसँग समेत छलफल गरेका थिए । छलफलपछि उक्त औषधिको औपचारिक परीक्षण प्रारम्भ गर्ने निर्णय भएको मन्त्री दुलालले जानकारी दिए ।

    “अब नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत औषधिको परीक्षणलगायतको काम हुन्छ”, उनले भने । डाक्टर दासलाई प्रदेश सरकारको साथ रहने तथा सरकारका तर्फबाट सबै प्रकारको सहयोग रहने उनको भनाइ छ ।

    आफूले तयार पारेको औषधिले कोरोना भाइरसविरुद्ध पूर्णरुपमा काम गर्ने जिकिर गर्ने डाक्टर दासका अनुसार उनले रोगको निदान गर्ने समूह र सङ्क्रमण हुन नदिने समूह गरी दुई भागमा नौ प्रकारका औषधि तयार पारेका छन् । सोमध्ये छ प्रकारका औषधिलाई सङ्क्रमण लाग्न नदिन सुईका रुपमा प्रयोग गर्न सकिने तथा तीन प्रकारका औषधिलाई सङ्क्रमण पछि उपचारका लागि र रोगको निदानका लागि प्रयोग गर्न सकिने उनको भनाइ छ ।

    आफूले कोरोना भाइरसको बनावट त्यसका रसायनिक तथा अन्य गुणको अध्ययन गरेको र विभिन्न १५ प्रकारका वनस्पतिमार्फत त्यसलाई नष्ट गर्ने औषधि तयार पारेको उनको भनाइ छ । डाक्टर दासले उक्त औषधिले कोरोना भाइरसको पहिलो पत्रमा हुने बोसो तथा प्रोटिनलाई समेत टुक्र्याउने र भाइरसलाई निष्क्रिय बनाउने बताए । द्रुत सङ्क्रमक भाइरस भएकाले भाइरसलाई ल्याबमा ल्याएर परीक्षण नगरेको तर अन्य वैज्ञानिक परीक्षण गरेको उनको भनाइ छ ।

    वर्षौंदेखि मानव जातिले विभिन्न तरिकामा प्रयोग गर्दै आएका वनस्पतिको प्रयोगबाट औषधि तयार भएकाले यसको प्रयोगबाट कुनै पनि प्रकारको ‘रियाक्सन’ नहुने तर कसैकसैमा सामान्य खालको एलर्जीसम्म हुनसक्ने डाक्टर दासको भनाइ छ ।

    पहिलोपटक समाचार प्रकाशन तथा प्रशारण गरेपछि डाक्टर दासको अनुसन्धान सार्वजनिक भएको थियो । समाचारपछि नेपालमै कोरोनाविरुद्ध औषधि पत्ता लागेको भन्दै देश विदेशमा चर्चा चलेको थियो । वनारस विश्वविद्यालयबाट रसायन शास्त्रमा विद्यावारिधि गरेका डाक्टर दास त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसमा प्राध्यापन गराउछन् । बाराको कलैयाका स्थायी बासिन्दा डाक्टर दासले हेटौँडाकै मकवानपुर बहुमुखी क्याम्पसलगायतका शैक्षिक संस्थामा समेत अध्यापन गराए ।

    यसैबीच, डाक्टर दासलार्ई विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने सुईका रुपमा मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिएको छ । भिडियो कन्फेरेन्समार्फत कुराकानी गरेपछि स्वास्थ्य सङ्गठनले इमेलमार्फत उक्त सुझाव दिएको डाक्टर दासले जानकारी दिए । उनका अनुसार डब्लुएचओले १६ पृष्ठ लामो सुझाव तथा जिज्ञासा पठाएको छ ।

    डाक्टर दासका सहयोगी अनुसान्धानकर्ता तथा संस्थानका प्राध्यापक वनस्पति शास्त्री दामोदर गैरेका अनुसार डब्लुएचओले सुईमार्फत औषधि दिँदा कतिपयलाई एलर्जी हुनसक्ने भएकाले खाने झोलका रुपमा तयार पार्न अनुरोध गरेको जानकारी दिए ।

    गैरेका अनुसार डब्लुएचओले औषधिको कम्पोजिसनका बारेमा थाहा पाएपछि सकारात्मक प्रतिक्रिया दिएको छ । “डब्लुएचओले हामीलाई आवश्यक परे कति परिमाणमा औषधि तयार पार्न सक्छौँ भनेरसमेत सोधेको छ”, उनले भने ।

    स्रोत – रासस

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै