•            
    • TOKHA LIVE

    • ११ भाद्र २०७७, बिहीबार ०७:४१

    संस्कृति परिचय : नेपाल संवत्

    ~सुभाषराम लाछि~

    जयदेव दितियपछि लिच्छवि वंशका अन्तिम राजा मानदेव चतुर्थसम्मको १ सय ४७ वर्षको समयावधिका ऐतिहासिक सामाग्री नपाइएकाले यो समयलाई नेपाली इतिहासमा अन्धकारमय समय भन्ने गरिन्छ। लिच्छवि शासनकालपछि ठकुरी शासनकाल शुरु भएपछि पाटनका तत्कालिन राजा राघवदेवका पालामा ( तत्समय हालको काठमाडौं क्षेत्रसमेत पाटन राज्यमा समाविष्ट थियो ) नेपाल संम्वत्को नाममा एक नया संवतको प्रादुर्भाव भएको देखिन्छ ।

    राजा श्री राघव देव वर्ष ६३ मास ६
    श्री पशुपति भटारके सम्वत्सर प्रवृतिकृता

    राघवदेवको पालामा एक साधारण जनताबाट स्थापित भएर पनि होला, शुरुका वंशावली र अभिलेखहरुमा यस संवतका प्रणेतालाई त्यति महत्व दिइएन । आफ्नो सम्पूर्ण धन जनताको उद्धार कार्यमा खर्चेर जनतालाई मुक्तिको सास फेर्न लगाउने र नया“ संवतसर प्रचलनमा ल्याउने ती व्यक्ति शंखधर साख्वाः थिए ।

    शताब्दीयौंदेखि जनश्रुतिबाट अमर रहेका ती नायक नेपाल संवत् ८२७ का अभिलेखमा शंख्वा नामले देखापरे । भूपतिन्द्र मल्लको शासनकालको नेपाल संवत् ८२७ को भक्तपुरको जेंला टोलस्थित एक शिलालेखमा नेपाल भाखा शंख्वा संवत् उत्कीर्ण भएको छ । यिनै शंखधरलाई शंख, शंख्वा, साख्वाः साख्वाल (सा — गाई, ख्वाः — अनुहार), साखवाल साख्वाल आदि नामले चिनाउने प्रयास भएका छन् । यिनलाई वंशावलीमा कहीं व्यापारी, कहीं शुद्र त कहीं कुम्हाल, ज्यापू वा गोपाल आदिका रुपमा देखाईएको छ । महत्वपूर्ण कुरा त उनको कीर्ति हो, जुन नेपालको इतिहास र संस्कृतिबाट अविभाज्य छ र भइ नै रहनेछ।

    नेपाली इतिहासमा मुख्यतः चार वटा संवत् चल्तीमा आएका देखिन्छन् । ती हुन्, अघिल्लो लिच्छवि संवत। पछिल्लो लिच्छवी संवत्, नेपाल संवत् र विक्रम संवत् । सुमतितन्त्र ग्रन्थअनुसार नेपाल संवतमा ८०२ अंक जोडेमा त्यो शक संवत् बन्छ भनिएको छ । यही आधारमा अघिल्लो लिच्छवी संवतलाई शक संवत् भानिएको छ । त्यस्तै, पछिल्लो संवत् मानदेव दितीयको नामबाट प्रचलित मानदेव संवत् हो । नेपालमा हालसम्म भेटिएको शक संवत् अंकित शिलालेख संवत् १०७ को मालिगाउ“ अवस्थित जय वर्माको शिलालेख हो । अंशुवर्माकालीन शक संवत् ५१५ देखि ५२६ सम्मका शिलालेखहरु भेटिएका छन् । त्यसपछि अंशुवर्माका संवत् २९ देखि ४५ सम्मका मानदेव संवतको संज्ञा दिन्छन् । यस संवतलाई अंशुवर्माले प्रचलनमा ल्याएको अंशुवर्मा संवत् हो भन्नेहरु पनि छन्।

    लिच्छवी संवतको सन्दर्भमा इतिहासविद् श्यामसुन्दर राजवंशीले अर्को कुरा प्रकाशमा ल्याउनु भएको छ । उहा“का अनुसार, अंशुवर्माले प्रयोगमा ल्याएको संवत् २९ देखि मानदेव चतुर्थका ३०१ सम्मको संवत् केही नया“ संवत् नभई लिच्छवी संवत् ५०० पछि ५०० अंक छाडी संक्षिप्त रुपमा प्रचलनमा ल्याइएको लिच्छवी संवत् हो अर्थात् अंशुवर्माले प्रयोग गरेको २९ आदि संवत् ५२९ आदि हुन् । त्यस्तै मालीगाउ“को संवत् १०७ को जयवर्माको अभिलेख, चांगुको संवत् ३८६ को मानदेव प्रथमको अभिलेख आदि पनि शक संवत् जुन ५०० वर्षजति प्रचलनमा रह्यो र मानदेव संवत् (जुन ३ सय वर्षजति प्रचलनमा रह्यो) दुवै एकै संवत् हुन् । यो संवत्लाई अहिले लिच्छवी संवत् संज्ञा दिइएको छ । यस हिसाबले नेपालमा तीन वटा मात्र संवत् देखिन्छन्, लिच्छवी संवत्, नेपाल संवत् र विक्रम संवत् । उल्लिखित लिच्छवी संवत् शक संवतभन्दा १७ महिना पहिले शुरु भएको प्रमाणित गरिएको छ । लिच्छवीकालका अभिलेखहरुमा संवत् उल्लेख गर्दा संवतको नाम उल्लेख नगरी संवत् शब्द संख्या मात्र उल्लेख गरिएको पाईएको छ । हालसम्म कुनैै पनि अभिलेखमा लिच्छवी संवत् भनी उल्लेख गरिएको पाईएको छैन । यस संवतको उत्पत्ति र प्रवर्तकका बारेमा हालसम्म केही थाहा पाउन सकिएको छैन।

    माथि वर्णित लिच्छवी संवत् ८०३ पुग्दा नेपाल संवत् शुरु भएको देखिन्छ । नेपाल संवत् शुरु भएको दिन सन् ८७९ अक्टोबर २० हो भनी कीलहर्नले पत्ता लगाएका छन् । पाटन क्वाः बहालको अष्ट सहस्रिका प्रज्ञापारमिता पुस्तकमा उल्लेख भएको चि संवत् लाई नेपाल संवत् १ ( एक) हो भन्ने तर्क पनि रहंदै आएको कुरा डा. चुन्दा बज्राचार्यले उल्लेख गर्नुभएको छ । यदि यो गलत नभएमा यो नै नेपाल संवत् को पहिलो अभिलेख हो जुन उत्पत्तिको प्रथम वर्षमै प्रयोग भएको थियो । त्यस्तै पाटनको मंगलबजारस्थित कृष्णमन्दिर अगाडिको ढुंगेधारामा उत्कीर्ण गरिएको ऊ“ संवत् माता लाई नेपाल संवत् (१०) दस मानिंदै आएको छ । नेपाल संवत् नै भनी किटान गरिएको सर्वप्राचीन नमुना भने एस के सरस्वती (कलकत्ता) को संग्रहमा भएको अष्ट सहस्रिका प्रज्ञापारमिता ग्रन्थ मानिएको छ, जसमा नेपाल वत्सरे १४८ प्रगने माघ शुक्ल दशम्यां भनी तिथि उल्लेख भएको छ । यसपछिका अभिलेखहरुमा यो संवत्लाई श्रयस्तु संवत्, नेपालाब्द, नैपालीक संवत्, नेपाल देशीय संवत्, शुभ संवत्, नेपालीक संवत्, नेपाल भाखा संवत् आदि उल्लेख भएको पाइन्छ।
    नेपाल संवतको उत्पत्ति क्षेत्र नेपालमण्डल (काठमाडौं खाल्डो) भए पनि यसको प्रयोग यहीं मात्र सीमित भएको भने देखिदैन । नेपाल अधिराज्यको पूर्वी उदयपुर जिल्लादेखि पश्चिमका मगरात, गुल्मी, प्यूठान, लमजुंग आदि ठाउका हस्तलिखित ग्रन्थादिमा नेपाल संवत् व्यापक प्रयोग भएको पाइन्छ । नेपाल अधिराज्यमा मात्र नभई यसको प्रयोग भारत र तिब्बत (चीन) मा पनि भएको प्रमाण महाचीनका मिंगवंशी राजा तायिमिंगले बनेपाका शासक शक्ति सिंह रामलाई नेपाल संवत् ५३५ आषाढ शुक्ल दशमी मिति उल्लेख गरी पठाएको फरमान पत्र, भारत कुचविहारका राना प्राणनारायणले नेपाल संवत् ७५३ उल्लेख गरी निकालेको ससुवर्ण मुद्रा, शाहवंशीय राजा प्रतापसिंहको पालामा भएका नेपाल संवत् ८९५ उल्लेखित भोटसितके सन्धिपत्र आदि हुन् । नेपालमा प्रयोगको हिसाबले सबैभन्दा कान्छो संवत् विक्रम संवत् हो । यो संवत् सन् १९०३ मा श्री ३ चन्द्र शमशेरको शासनकालमा मात्र सरकारी प्रयोजनमा भित्रिएको संवत् हो । यो प्रयोगको गन्तीले यो संवत्को प्रचलन १ सय वर्ष पनि भएको छैन । फेरि यो संवत् इस्वी संवत् जस्तो अन्तर्राष्टिय प्रचलनमा रहेको संवत् पनि होइन र नेपालको मौलिक संवत् पनि होइन ।

    माथि वर्णित लिच्छवी संवत् र नेपाल संवत् नेपालका मौलिक संवतहरु हुन्। लिच्छवी संवत्को तुलनामा ऐतिहासिक र सांस्कृतिक दृष्टिले नेपाल संवत् अत्यन्त महत्वपूर्ण छ । नेपाली इतिहासमा लिच्छवी संवत् जम्मा ८ सय वर्षसम्म चलेको छ । नेपालमा जति पनि चाडपर्व, जात्रा मेला, उत्सव मनाइन्छ ती सबै नै (केही अपवाद छाडेर) नेपाल संवतको चन्द्रमास पात्रो अनुसार नै मनाईंदै आईएको छ । नेपाल संवतको ज्ञान विना त नेपालको इतिहास र संस्कृति अध्ययन असम्भव नै छ । नेपालको इतिहास र संस्कृति अध्ययनमा सबैभन्दा महत्वपूर्ण संवत् नेपाल संवत् नै हो । नेपाल संवत् उल्लिखित, नेपाल संवतमा लेखिएका घटनावली, वंशावली आदि हजारौं ग्रन्थ र अभिलेखहरु आज पनि सुरक्ष्ँित नै छन् । यी ग्रन्थादि कुनै भाषा र लिपि विशेषमा मात्र सीमित छैनन् । यी कुराहरु यस संवतको जीवन्तताका प्रमाण हुन्।

    वास्तवमा संवत् कुनै जाति, भाषा र वर्गसंग मात्र जोडिने विषयवस्तु होइन । आज नेपाल संवतको ऐतिहासिक मौलिकता र महत्वमाथि कसैले शंका गर्ने ठा“उ नरहे जस्तै यो संवत् कुनै जाति, भाषा, वर्ग वा धर्मसंग मात्र सम्बन्धित होइन भन्ने तथ्य पनि सर्वमान्य भइसकेको छ । त्यसैले यो संवत्लाई ओझेलमा पार्नु भनेको नेपालको आफ्नो मौलिकतालाई उपेक्षा गर्नु सरह ठहर्दछ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै