•            
    • TOKHA LIVE

    • १९ श्रावण २०७७, सोमबार ०७:११

    आज जनैपूर्णिमा अर्थात् क्वाँटी खानेदिन:-

    टाेखा लाइभ,श्रावण १९ काठमाडौं : आज जनैपूर्णिमा अर्थात क्वाँटी खानेदिन हो। क्वाँटी नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । क्वाँटी नेपालीहरूको भान्सामा पाक्ने झोलिलो खानेकुरा हो । “क्वाँटि” शब्द नेपालभाषाको “क्वाति” शब्दबाट बनेको हो, जस अनुसार “क्वा” को अर्थ तातो र “ति” को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले “क्वाति” वा “क्वाँटि” को अर्थ तातो सुप भन्ने बुझिन्छ । जनै पुर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खानेचलन छ । यस्ता गेडागुडीको मिश्रण खानु अघि यस्लाई टुसा उम्रेने गरी पानीमा भिजाउने चलन छ । चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो । विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ ।

    यस पर्व लाई क्वाँटी-पुर्णिामा बाहेक जनै पुर्णिामा ,ऋषितर्पणी र क्वाँटी-पुन्ही भनेर पनि जानिन्छ। टाेखाका किसानहरु मध्ये यो दिन जोशी , राजोपाध्याय आदिले जनै ग्रहण गर्ने कुरालाई बढी ध्यानाकर्षण गरे पनि सबैले विभिन्न प्रकारका गेडागुडी भिजाएर पकाइ झोल खाने गर्दछन।रोपाइ आदिमा खर्च भएको शारीरिक शक्तिलाई पुर्ती गर्न खाइने यो पर्व पछी यहाँका बुढापाकाहरु लाम्खुट्टेले दुःख दिन छाेड्ने जनविश्वास रहिआएको छ । यहिदिन किसानहरुले खेतमा भ्यागुतोलाई पनि क्वाँटी ख्वाउने परम्परा रहिआएको पाइन्छ । जस्ले गर्दा यो चाड मानव र प्रकृती संग अझ नजिक हुने पर्वको रूपमा यस्लाइ लिन सकिन्छ।

    शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ । मास, भटमास, मुगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी र बोडीको मिश्रण नै क्वाँटी हो । धार्मिक मान्यताअनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको रातमा क्वाँटी खाने चलन छ । क्वाँटी जनै पूर्णिमाको विशेषता नै हो । हिन्दू धर्मावलम्बीहरुले देशभर जनैपूर्णिमा अर्थात् ऋषितपर्णी पर्व मनाउने गर्दछन् । तागाधारीहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको डोरो बांधी रक्षाबन्धन पनि गरिन्छ । आज बाधिएको डोरो गाइ तिहारका दिन गाइको पुच्छरमा बांधेमा मृत्युपछि बैतरणी पार भइन्छ भन्ने जनविश्वास रहेको छ ।

    नेपाल कृषिप्रधान मुलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको मान्यता छ । गेडागुडीलाई टुसा उम्रनेगरी पानीमा भिजाएपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। विभिन्न नौ गेडागुडीको टुसा उमारी पूर्णिमाका दिन क्वाँटी खाने चलन छ। शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको छुटै महत्व छ। क्वाँटी जनैपूर्णिमाको विशेषता नै हो ।

    जनैपूर्णिमाका अवसरमा पाटनको कुम्भेश्वर, रसुवाको गोसाइकुण्ड, नुवाकोटको देवीघाट, म्याग्दीको नागीबाराही लगायत देशका विभिन्न मन्दिरहरुमा पनि जनैपूर्णिमाको अवसरमा मेला लाग्ने गर्दछ । विहान बाह्रमणले जपेको डोरो हातमा बाँध्ने, दिदिबहिनीले आफ्ना दाजुभाईलाई हातमा राखी बाध्ने र बेलुका नौ प्रकारका गेडागुडी मिश्रित क्वाटी खाने हिन्दु मान्यता छ । खासगरी नेवार समुदायमा क्वाटी खाने प्रचलन बढी छ । नेपाल कृषिप्रधान मूलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाटी खाने गरिएको हो । क्वाटी खाएर पर्व मनाउनुका साथसाथै यसै दिन रक्षा बन्धन पनि पर्ने भएकोले दिदी बहिनीहरुले आफ्ना दाजुभाईहरुलाई हातमा राखी बानेर हर्षोउल्साथका साथ यस दिन मनाउने गर्दछन् ।

    क्वाँटीमा काब्रोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनिरल्स, फोलिक एसिड, फाइबरका साथै आइरनको मात्रा पनि प्रशस्त मात्रामा पाइन्छ । यो खानेकुरा बच्चादेखि वृद्धसम्मका लागि उपयोगी हुन्छ। बच्चाहरूको जाउलोमा पनि मसिनो गरेर क्वाँटी पिसेर खुवाउँदा निकै फाइदा पुग्छ । यसले कुपोषणबाट जोगाउँछ। शरीरमा आवश्यक पौष्टिक तत्वको पूर्ति गराउँछ। वृद्धावृद्धालाई पनि यो खुवाउँदा यसले शरीरमा शक्ति दिन्छ ।

    हामीले क्वाँटीको सुप बनाएर पनि खान सक्छौं । खानासँग मिसाएर पनि प्रयोग गर्न सक्छौं । गर्भवती महिलाका लागि यो झनै उपयुक्त हुन्छ । माछामासु धेरै नखाने मानिसका लागि पनि गेडागुडी फाइदाजनक हुन्छ । यसलाई भिजाएर घरमै चटपटेका रूपमा पनि खान सकिन्छ । प्रोटिन, भिटामिन तथा मिनिरल्स पर्याप्त मात्रामा भएकाले शरीरका मांशपेशीलाई मजबुत बनाउन क्वाँटीले सहयोग गर्छ । क्वाँटीमा ज्वानो र अन्य मरमसला हालेर बनाउने भएकाले धेरै पोषणतत्व पाइन्छ । क्वाँटीलाई हामी हप्तामा दुई पटक पनि खान सक्छौं ।

    क्वाँटीका फाइदा

    १. कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो ।
    २. मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ ।
    ३. यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।
    ४. तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।
    ५. यो सजिलै पाच्य हुन्छ र शरीरलाई मजबुत र तन्दुरुस्ती पनि प्रदान गर्दछ ।
    ६. पेटमा अनावश्यक वायु बनाउँदैन र शरीरलाई स्वस्थ राख्न पनि मद्दत गर्दछ ।
    ७. क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
    ८. रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।
    ९. रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।
    १०. क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।
    ११. मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
    १२. रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।
    १३. टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ ।
    १४. पाचनशक्तिमा सुधार ल्याउँछ ।
    १५. गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ ।

    क्वाँटी बनाउदा पर्ने आवश्यक सामग्री :

    १. सबैभन्दा सुरुमा नौं किसिमको गेडागुडी आवश्यक पर्दछ ।
    २. त्यसपछी गरम मसला, धनियाँ, टमाटर, प्याज काट्नुपर्छ ।
    ३. घ्यु, जिरा, बेसार, लसुन अदुवाको पेस्ट पनि चाहिन्छ ।
    ४. रातो खुर्सानीको धुलो, नुन पनि क्वाटीको लागी आवश्यक पर्छ ।

    क्वाँटी बनाउने विधि :

    १. गेडागुडीलाई अघिल्लो दिन भिजाएर राख्नुपर्छ ।
    २. प्रेसर कुकरमा गेडागुडी राख्ने र त्यसमा पानी राख्नुपर्छ ।
    ३. अब त्यसमा नुन, बेसार र तेल राखेर राम्रोसंग चलाउनुपर्छ ।
    ४. अब त्यसलाई बन्द गरेर दुई देखि तीन सिठी सम्म लगाउनुपर्छ ।
    ५. त्यसपछि एउटा भाँडोमा घ्यु तताउनुपर्छ ।
    ६. घ्यु तातेपछि त्यसमा जिरा फ़ुराएर त्यसमा प्याज पनि राखेर चलाउनुपर्छ ।
    ७. अब त्यसमा लसुन अदुवाको पेस्ट राख्नुपर्छ र केही छिन पछि टमाटर पनि राख्नुपर्छ ।’
    ८. केही छिन पकाएपछि त्यसमा क्वाँटी झान्नुपर्छ ।
    ९. त्यसपछि त्यसमा बाँकी मसला राखेर पकाउनुपर्छ ।
    १०. पाकिसके पछी मिष्ठान भोजन गर्न उपयुक्त हुनेछ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै