टाेखा लाइभ,काठमाडौं । स्थानीय सामग्री प्रयोग गरी मूर्तिकार भुवन थापा ‘बहुबि’ले बनाएका कलाकृतिको प्रदर्शनी गुल्मीमा शुरु भएको छ। सत्यवती गाउँपालिका–२को ठूलो लुम्पेकस्थित सत्यवती लेकमा गरिएको प्रदर्शनीमा स्थानीय मौलिकतालाई चिनाउने कलाकृति छन् ।
कलाकार थापाले प्रकृति, कला र समुदायको चुल्ठीबाटी सम्बन्ध चिनाउने गरी कलाकृति प्रस्तुत गरेका हुन्। गत शुक्रबार एक समारोहबीच प्रदर्शनीको शुभारम्भ गर्दै प्रकृति, कला र समुदायको सम्बन्धलाई जोडेर कलाकृति बनाइएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताए। विश्वव्यापी महामारीका रूपमा संक्रमण फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को सन्त्रासका बीच प्रकृति, कला र समुदायको चुल्ठीबाटी सम्बन्धलाई प्रस्तुत गरिएको कलाकार भुवन थापाले बताए ।
थापाद्वारा बनाइएका कलामा स्थानीय परम्परागत सीप, ज्ञान र प्रविधि प्रयोग गरिएको छ। कोरोना कहरका बीच लगाइएको बन्दाबन्दीमा कलाकार थापाले बाँस र स्थानीय सामग्री प्रयोग गरी कला सिर्जना गरेका हुन्। ‘कोरोना कहरका बीच एकान्तबासमा बसेर समुदायमा आधारित डोको बुन्ने स्थानीय परम्परागत उपयोगी कलाबाट प्रभावित भएर त्यसैलाई ललितकलाको रूप दिने प्रयास गरेको छु।’ –कलाकार थापाले भने। उनले स्थानीय सामग्रीबाट तयार पारिएका कलाकृतिलाई प्रदर्शनीमा ल्याएको बताए।
थापाले भने– ‘परिणाममा यस महामारीले पारेको शारीरिक तथा मानसिक तनावबाट मुक्ति दिने आत्मिक औषधी प्राप्त गर्न सकियोस् भन्ने कामनाका साथ कला रचना गरेको हुँ।’
प्रदर्शनीलाई शुभकामना दिँदै प्रदेश ५का सामाजिक विकासमन्त्री सुदर्शन बरालले स्थानीय परम्परागत उपयोगी कलालाई परिष्कृत र परिमार्जन गर्दै स्थापित कलाकार थापाको विशेष प्रस्तुतिले मौलिकतालाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने चर्चा गरे।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले प्रदर्शनीको शुभकामना दिँदै समुदायमा आधारित डोको बुन्ने परम्परागत उपयोगी कलाबाट प्रभावित भएर त्यसैलाई ललितकलाको रुप दिने प्रयत्न गर्नु अति नै प्रशंसनीय कार्य भएको बताएका छन् ।
उनले आधुनिक मूर्तिकलाका साधक, सिर्जनामा प्रयोगहरु गर्न पछि नहट्ने एक स्वभालम्बी मूर्तिकारको रुपमा परिचित चर्चित मूर्तिकार भुवन थापा ‘बहुबि’ ले लकडाउनको समयको सदुपयोग गरेर कलाकृतिको सिर्जना गरेकोमा खुसी लागेको बताउनु भयो। शुभकामना सन्देशमा कुलपति कर्माचार्यले अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मानिसहरुमा शारीरिक तथा मानसिक रुपमा तनाब थपिएको र यस्तो अवस्थामा मूर्तिकार थापाले आयोजना गर्न लागेको ललितकला प्रदर्शनीले केही हदसम्म भए पनि स्थानीय जनसमुदायलाई मनोरञ्जन र मानसिक शान्ति मिल्ने आशा एवं विश्वास लिएको बताएका छन् ।