•            
    • TOKHA LIVE

    • २ श्रावण २०७७, शुक्रबार १०:०९

    धार्मिक महत्व बोकेको बौडेश्वर गुफा :-

    टोखा लाईभ, २ साउन २०७७ , काठमाण्डौं

    नेपालका वर्णनीय गुफाहरुमध्ये राजधानी नजिकैको बौडेश्वर महादेवको गुफा पनि एक हो । भगवान् शिव गुप्तरुपमा यहाँ लुकेर बसेको यो गुफाको नाम बौडेश्वर महादेव गुफा रहन गएको मान्यता रही आएको छ । कैयौं वर्षदेखि उचित संरक्षण तथा प्रचारप्रसारको कमीले यो पवित्र गुफा ओझेलमा परेको छ ।
    काठमाण्डौंको टोखा नगरपालिका वडा नंं. १ झोरमहाकालमा अवस्थित डाँडामाथिको शिवपुरी राष्ट्रिय निकुञ्जको रमणीय जंगलको मध्यभागमा रहेको यो गुफाको छुट्टै किसिमको धार्मिक महत्व छ । समुद्र सतहबाट करिब १२ हजार फिटको उचाईमा रहेको कारण यहाँबाट उपत्यकाका सुन्दर दृश्यहरु अवलोकन गर्न सकिन्छ । यहाँ पिकनीकका लागि काठमाण्डौं उपत्यकाबाट आउने मानिसहरुको सँधै घुईँचो लाग्ने गर्छ । यहाँको सुन्दर वातावरणमा आनन्द लिन मात्र नभई बौडेश्वर महादेवसँग सन्तानको कामना गर्न सन्तान नहुनेहरु प्रत्येक सोमबार र मंगलबार आउने गर्छन् । कतिपय विवाहित महिलाहरु बौडेश्वर महादेवस्थानमा पूजा, व्रत, उपासनाको फलस्वरुप सन्तानको रहर पूरा भएको अनुभव सुनाउँछन् । सन्तानको इच्छा पूरा भइसकेपछि भक्तजनहरुमध्ये कसैले शिलापत्र चढाएको, कसैले गुफामा ढोका राखेको, कसैले पाटीपौवा बनाएको कुरा यहाँका स्थायी बासिन्दाहरु बताउँछन् । यहाँको बौडेश्वर गुफा कसैले बनाएको नभई महादेवको कारण आफसेआफ उत्पत्ति भएको बूढापाकाहरु बताउँछन् ।


    विशाल ढुङ्गाहरुको बीचबाट बगेर जाने बौद्ध खोलाको सुन्दर झरनाले सबैको मन आनन्दित बनाउँछ । यो झरनाको उचाइ ४० फीट रहेको छ । यो झरना हेर्न वर्षायाममा मानिसहरुको भीड लाग्ने गर्छ । यो बौडेश्वर गुफा २० मिटर लामो छ र गुफाभित्र ११ रद्र, गायत्री, सावित्री, गणेश, सरस्वती, गुप्तवासी भगवतीका मूर्तिहरु रहेका छन् । यस गुफाको अगाडि सानो पोखरी छ, जसलाई चत्रकुण्ड भनिन्छ । यस कुण्डमा अन्य स साना गरी १ सय ८ कुण्ड रहेका छन् । तीमध्ये प्रसिद्ध पाँच कुण्डहरु पाञ्चजन्य कुण्ड, ऋषिकेश कुण्ड, देवतदत्त कुण्ड, धनञ्जय कुण्ड र पाण्डव कुण्ड नामले परिचित छन् ।
    यो बौडेश्वर गुफा तह तह परेर बनेको छ । पहिलो र दोश्रो तहमा जान सकिन्छ । ढुङ्गा छापेर गुफाभित्र जान सजिलो बनाएको छ ।


    भने बिजुली बत्तीको पनि ब्यवस्था छ । यस गुफाभित्र केही चमेरा पनि रहेका छन् । वर्षयाममा यस गुफामा पानीको मूल फूटेर हिँड्न अप्ठ्यारो हुने भएकाले हिउँदमा जान बढी उपयुक्त हुन्छ ।


    गुफाबाहिर पाटीपौवाहरु छन्, जहाँ पुजारीहरु बस्ने गर्छन् । गुफाबाहिरको आँगन अलि साँघुरो छ । झोरमाहाकाल बजारबाट गुफासम्म पुग्ने सिँढी बनाइनुका साथै ठाउँ ठाउँमा गुफा जाने बाटो भनी संकेतचिह्न राखिएको छ । गुफाभित्र जाँदा चाहिने धूप, पूजासामाग्री, सलाई आदि गुफा नजिकै किन्न पाईन्छ । गुफाभित्र पहिलो पटक जाँदा स्थानीय व्यक्तिको सहयोग लिन पनि सकिन्छ । गुफाका भित्रपट्टि हेर्दा भयानक देखिए पनि चित्ताकर्षक छ । बाहिरपट्टिको मनोरम पहाडको खोच र झरनाले निकै रमाइलो अनुभव गराउँछ ।


    बौडेश्वर महादेव नामाकरण सम्बन्धमा यहाँ पूजाअर्चना गरी बसेका राजु काफ्ले भन्छन् दक्षप्रजाप्रतिले विष्णुको छलमा परेर छोरी सतीदेवी महादेवलाई कन्यादान दिए । आफूलाई पटकै मन नपर्ने महादेवलाई कन्यादान दिनु परेकोमा असन्तुष्ट भई दक्षप्रजापतिले अश्वमेध यज्ञमा महादेलाई बोलाएनन् । सतीदेवीलाई यस घटनाले अपमान बोध भयो र यज्ञकुण्डमा हामफालेर प्राणत्याग गरिन् । माहादेव सतीदेवीसँगको बिछोडको विरहमा परेर उनको देह बोकी मत्र्यमण्डलमा घुम्दै हिँडे । हिँड्दाहिँड्दै यही ठाउँमा आइपुग्दा सतीदेवीको दायाँ स्तन पतन भयो । त्यसपछि यहाँ कृष्णवर्णेशवर महादेव उत्पत्ति भए । जुन कुरा स्वस्थानी व्रतकथामा पनि वर्णन गरिएको पाइन्छ । यसरी कृष्णवर्णेशवर महादेवको नाम अप्रभंंश हुँदै जाँदा बौडेश्वर भएको हुन सक्छ ।


    महादेव र विष्णुसँग जोडिन पुगेको यो कथा भष्मासुर राक्षससित पनि गाँसिएको छ । एक पटक भष्मासुरले महादेवको तपस्या गर्य्यो । महादेव खुसी भएर उसलाई जसको टाउकोमा हात राख्न सक्छस् त्यो भष्म हुनेछ भनी वरदान दिए । यो वरदान पाएपछि उसलाई घमण्ड चढ्यो । महादेवकै टाउकोमा हात राखेर राक्षसले प्राप्त वरको परीक्षण गर्ने विचार गरेर उसले महादेवको टाउकोमा हात बढायो । महादेव भाग्न थाले । भाग्ने क्रममा महादेव यसै ठाँउमा आइपुग्यो । यहाँको विसाल ढुङ्गालाई उनले त्रिशूलले फोलेर भित्र लुके । भष्मासूर पनि त्यहीँ पुग्यो । महादेवलाई आपत परेको कुरा विष्णुले थाहा पाए । विष्णुले मोहिनी रुप लिएर भष्मासुरअगाडि देखा परे । भष्मासुरले ढङ्ग परेर मोहिनी रुपका विष्णुसँग आफ्नो वृत्तान्त सुनायो । सुन्दरी रुप विष्णुले आफ्नै टाकोमा हात राखेर परीक्षण गरिहेर न, महादेवले दिएको वरदान के पुग्छ र भने”। हो त नि भनेर उसले हात आफ्नै टाउकोमा पु¥यायो त्यसपछि भष्मासुर भष्म भयो ।
    महादेवले भाग्दाभाग्दै त्रिशुलले खोपेर भित्र पस्दा बनिएको विश्वास गरिने यो गुफाभित्र अर्को गुफा पनि छ । अर्को गुफाभित्र अनन्त भगवानकाे मुर्ति छ । यस गुफामा ९ वटा ढोकाहरु छन् । ती विहाल ढुङ्गामा नाग आकारका सेता धर्साहरु पनि देख्न सकिन्छ । त्यहाँ अवस्थित बिभिन्न विशाल ढुङ्गालाई नियाल्ने हो भने थूप्रै विचित्र र आकर्षक आकृतिहरु देख्न सकिन्छ ।


    महादेव मन्दिरको दक्षिण पश्चिम दिशामा रहेको विशाल ढुंगामा चिसो माटोमा टेकिएको पाइलाजस्तो लाग्ने स्पष्ट तीन वटा पाइला र एउटा मृगको जस्तो पाइला देख्न सकिन्छ । ती पाइलालाई स्थानीय व्यक्तिले सीताको पाइलाको रुपमा मानी पूजाअर्चना गर्दै आइरहेका छन् । माथिल्लो ढुङ्गामा दाहिने शंखको आकार भएको एउटा प्वाल रहेको छ भने एउटा अर्को विश्वाल ढुङ्गाबाट आधा भाग जति हुत्तिई बनेका हात्ती र बाघको स्पष्ट आकृति पनि देख्न सकिन्छ । जुन ज्यादै आकर्षक र मनोहरछ । त्यसैगरी भष्मासुर राक्षसले महादेव नभेटेको रिसमा त्यहाँ रहेका नागलाई दुई टुक्रा पारी काटिएको जनश्रुतिअनुसार त्यही स्वरुपमा विशाल लाम्चिलो आकारको काटिएको ढुङ्गा देख्न सकिन्छ ।

    अनिष्टको संकेत
    यस बौडेश्वर महादेवको स्थानमा जुुुनसुकै श्रद्धालु भक्तजनले स्वच्छ मनले पूजाआजा र दर्शन गरेको खण्डमा मनले चिताएको कुरा पुग्ने जनविश्वास गाढारुपमा रहेको पाइन्छ ।
    महादेवको मन्दिरमा यसको परिपरिको गाउँमा कुनै अनिष्ट हुन लागेमा नजिकै रहेको चक्रकुण्डको पानी उम्लिने गर्छ भने विभिन्न रंग र आकारका नागहरु ढुङ्गाका चेपबाट निस्कने गरेको कुरा त्यहाँका प्रत्यक्षर्शीहरु बताउँछन् ।
    विशेषरुपमा यस महादेवको मन्दिरमा पूजाआजा र दर्शन गर्न शिवरात्रि, जनैपूर्णिमा, ऋषिपञ्चमी, कृष्णाष्टमी, बालाचतुर्दशी, फागुपूर्णिमा, नवरात्रि र अक्षयतृतीयका दिनमा स्थायीय बासिन्दाहरुको घुइँचो लाग्ने गर्छ ।


    टोखा नगरपालिका वडा नं. १ का अध्यक्ष श्री कृष्ण अधिकारी भन्छन् “हामीले यसै वर्ष देखि २५ करोडको बजेट विनियोजन गरेका छौं । ती मध्ये बालमैत्री, पिकनिक स्पोर्ट र आकासे झोलुङ्गे पुल झरनाबाट पश्चिमतिर २ सय मिटरको जंगलको बीचमा आकास झोलुङ्गे पुल बन्नेछ । यसमा चढेर सुन्दर काठमाण्डौंको दृश्यावलोकन गर्न सकिन्छ । “यसबाट बाह्रै महिना स्वदेशी तथा विदशी पर्यटकहरुलाई तान्न सकिन्छ यस बाट पर्यटहरुलाई थप कौटुहलता बढाउनेछ”। उहाँले टोखा लाईभलाइ बताउनु भयो ।


    अहिले यस गुफामा पुग्न यातायातको राम्रो व्यवस्था छ । चक्रपथ गोङ्गबु, सामाखुसीबाट बसमा चढी करिब ३० मिनेटममा टोखाको बाटो भई आउन जान सकिन्छ । नेवारहरुको बाहुल्य भएको यो स्थानमा टोखामा स्थनीय तीर्थयात्रीहरु बढी आउने गर्छन् भने यहाँ अहिले भक्तपूर, ललितपूर, खोकना, साँखु, किर्तिपूर बाट पनि मानिसहरु अबलोकन गर्न आउँछन् उक्त बौडेश्वरमा गुफा र झरना हेर्ने आउने गर्दछन् । जसरी पोखराको महेन्द्र गुफा सरकारी क्षेत्रको पहलमा देशी तथा विदेशीसामु परिचित रहेको छ, त्यसरी नै यस बौडेश्वर महादेव गुफालाई पनि सरकारी क्षेत्रबाट प्रचारप्रसार गरिएमा स्वदेशी मात्र नभई विदेशीहरुको माझमा पनि प्रख्यात हुने कुरा स्थानीय बासिन्दाहरु व्यक्त गर्छन् ।

    . हिकमत डंगोल / सानुराज डंगोल स्थलगत रिपोर्टिंग

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै