टोखा लाइभ । २०७९ साउन ३० गते ।
काठमाडौं । नेपालबाट चोरी भएर अमेरिका लगिएका पुरातात्विक महत्वका काठको कलात्मक सालभञ्जिका टुँडाल र प्रस्तरबाट निर्मित दुई साधुका बीचमा उभिएको शिव मूर्ति ल्याइएको छ । पुरातात्विक महत्वको टुँडाल काठमाडौं महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागको अनुमान छ । यो १३ औं वा १४ औं शताब्दीमा निर्माण भएको टुँडाल हो। शिवको मूर्ति भने महानगरपालिका १९ स्थित कंकेश्वरी मन्दिरबाट सन् १९९५ मा हराएको थियो।
यो मूर्ति १० औं वा ११ औं शताब्दीमा बनेको अनुमान गरिएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए। दुवै मूर्ति अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटान म्युजियम अफ आर्टमा उपहारका रूपमा पुगेको खुलेको हो । उक्त सामग्री नेपालको भएको विभागको अनुसन्धानबाट पुष्टि भएको प्रमाण पेश गरेपछि सम्बन्धित संस्थाले आफ्नै खर्चमा नेपाल फिर्ता गरेको हो।
अमेरिका र बेलायतमा रहेका यस्तै अन्य मूर्ति पनि फिर्ताको प्रक्रियामा रहेको महानिर्देशक गौतमले जानकारी गराए । विभागले आइतबार एक कार्यक्रम आयोजना गरी मूर्ति सार्वजनिक गरेको हो। म्युजियमका वरिष्ठ कला विशेषज्ञ जोन गाईले विभागका महानिर्देशकलाई दुवै सामग्री हस्तान्तरण गरे ।
अमेरिकाको सहयोगमा गत जेठ महिनामा चतुर्मुखी शिवलिङ्ग, प्रस्तरको उमामहेश्वरको मूर्ति, प्रस्तरको नागराजको मूर्ति, पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरको शाक्यमुनिको मूर्ति पनि नेपाल फिर्ता भएको थियो ।
प्रस्तरको चतुर्मुखी शिवलिङ्ग विशेष प्रकारको छ । तीन तहको यो मूर्तिमा ब्रह्मभाग, विष्णुभाग र शङ्करभाग छ । खम्बामाथि बनेको यो मूर्ति सन् १९८० को आसपासमा पशुपति क्षेत्रबाट हराएको थियो ।
प्रस्तरको उमामहेश्वरको मूर्ति ललितपुर महानगरपालिका–११ गाः हिटी टोलमा रहेको थियो । यो मूर्ति सन् १९६० मा हराएको हो । यो मूर्ति १० औँ शताब्दीको हो । यो मूर्ति अमेरिकाको डेनभर आर्ट सङ्ग्रहालयको एसिया सङ्कलनमा भेटिएको थियो ।
प्रस्तरको नागराजको मूर्ति १२ औँ वा १३ औँ शताब्दीको हो । यो मूर्ति राजकीय स्वरूपको मानवाकार छ । यो मूर्ति सन् १९८२ मा नक्साल क्षेत्रबाट हराएको हो । पद्मपाणि लोकेश्वरअर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति सन् १९५० तिर हराएको विभागले जनाएको छ । यो मूर्ति अमेरिकाको एक निजी कम्पनीको सङ्कलनमा रहेको थियो ।
प्रस्तरको शाक्यमुनिको मूर्ति पनि सन् १९५० कै दशकमा हराएको हो । यो मूर्ति पनि अमेरिकाको एक निजी कम्पनीको सङ्कलनमा रहेको थियो । युपिएस कार्गोले यी मूर्ति निःशुल्क फिर्ता गराउन सहयोग गरेको थियो । अमेरिकामा यी सामग्री सङ्ग्रह गरेका निकाय एवं कम्पनीले पनि सहयोग गरेको विभागका महानिर्देशक गौतमले बताए ।
मूर्ति साविककै स्थानमा स्थानान्तरणका लागि अनुरोध भई आएमा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २० क को प्रावधानअनुसार गर्न सकिने विभागले जनाएको छ ।
नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन म्यानुअल पि मिकालरले नेपालबाट चोरी निकासी भई अमेरिका पुगेका पुरातात्विक महत्वका सामग्री फिर्ता गर्दै जाने नीति रहेको सुनाए । उनले नै मूर्ति विभागका महानिर्देशक गौतमलाई हस्तान्तरण गरेका हुन् ।