•            
    • Sanu Raj Dangol

    • २२ असार २०७८, मंगलवार १२:०२

    किराँत राईहरुले नाँच्ने लहरे नाँच कसरी उत्पति भयो ?

    -रत्नप्रसाद अनामणि श्रेष्ठ
    असार २१ २०७८,

    किराँत संस्कृति मान्ने राईहरुको गाउँपिच्छे नै फरकफरक भाषा र भाषिका रहेको पाइन्छ । त्यसरी नै यिनीहरुको साँस्कृतिक परम्परा र त्यहाँका मान्छेले गाउने गीत तथा नृत्य समेत छुट्टाछुट्टै विशेषताहरुले भरिएको हुन्छ । यसरी हेर्दा किराँत राईहरुको साँस्कृतिक विविधता नै उनीहरुको एउटा विशेषता हो ।

    खोकू, छिन्ताङ, आँधिसल्ला क्षेत्रका किराँत राईहरुले ढोल र झ्याम्टाको तालमा वाढाङमी नाँच बडो रमाइलो गरी नाँच्छन् । यसलाई पापणी लहरेनाँच पनि भनिन्छ । विशेषगरी विवाह तथा अन्य साँस्कृतिक अनुष्ठानहरुमा यसरी गीत गाउँदै नृत्य प्रस्तुत गरिन्छ ।

    ‘पानी है पर्यो लै रिमिझिमी
    घाम लाग्यो घमाइलो
    छ दिनको मेला छ दिनको न्वारन
    भेट भएको बेला गरिजाउँ रमाइलो ।’

    छुट्टै किसिमको पहिचान बोकेको वाढाङमी नाँचको उत्पतिबारे एउटा रोचक कथा पनि छ । परापूर्व कालमा बुढाहाङ राजाले राज्य गर्दथे । ती राजा ज्यादै नियम पालन गर्ने राजाको रुपमा चिनिन्छन् । एनले आफ्ना छोराछोरीलाई आफूले बनाएको नियममा राख्ने गर्दथे । बुढाहाङ राजाका ६ वटी छोरीहरु थिइन् । राजाले ती छोरीहरुलाई वर्षमा छ दिन रमाइलो गर्न छुट दिने गर्दथे ।

    ती छ दिदीबहिनीहरुलाई मनोरञ्जनका लागि छ दिनसम्म छुट दिएको बेलामा तिनै छ दिदीबहिनी नाँचगानमा रमाउने गर्दथे । तिनै दिदीबहिनीहरु छ दिनसम्म नाँचेको नाँच नै पापणी नाँच हो ।

     

    बुढाहाङ राजाका छोरीहरुले नाँचेको नाँच भएकोले यो नाँचको नाम वाढाङमी रहेको हो भनिन्छ । अहिलेसम्म पनि बुढाहाङ राजाका छोरीहरुले नाँचेको र खाइपिइ रमाएको ठाउँको रुपमा आँखिसल्ला भन्ने स्थान रहेको बताइन्छ ।

    किरात राईहरु कार्तिक पूर्णिमा पछिको पहिलो मंगलबारको दिनदेखि छिन्ताङमा रहेको साकेला देविस्थानमा त्यसक्षेत्रका मानिसहरुले कुलदेवताको पूजा गरी छ दिन छ रातसम्म वाढाङमी नाँच नाँची खुब रमाइलो गर्दछन् ।

    त्यसैबेला त्यतातिरका धामीझाँक्रीहरुले मुन्धुम गाउँदै विभिन्न देवी देवताहरुसँग शक्ति वा बरदान माग्ने पनि गर्दछन् । ती छ दिनसम्म छोरी चेलीबेटीहरुले कुनै गल्ती गरेतापनि छुट दिने चलन छ । यदी छोरी चेलीबेटीलाई गाली गरेमा देवीदेवता रिसाई ‘दोख’ लाग्छ भन्ने जनविश्वास रहेको छ ।

    हिजोआज कामले फुर्सद नमिल्ने समयमा पनि ढोल र झ्याम्टा बजाउँदै समय मिलाएर लहरै कुम जोडेर नाँच्ने गर्दछन् । असार साउनमा दुःखगरी मानो रोपेर मुरी उब्जनी गरिसकेपछि यो नाँच सुरु हुन्छ । प्रकृतिलाई नयाँ बाली चढाउँदै आआफ्नो घर भित्र्याएको खुसियालीमा पनि नाँच्ने परम्परा रहेको छ ।

    महिला पुरुष मिसिएर विस्तारै पाइला सार्दै नाँच्ने यो पर्वमा तरुनी र तन्नेरीहरुको देखादेख र मिठो मुस्कानले मायाप्रिति गाँसेर विवाह समेत हुने गर्दछ । यो पर्व बुढाबुढी, तरुनी तन्नेरीहरुको साथै केटाकेटीहरु समेत बडो धुमधामका साथ मनाउने गर्छन् । तर पनि हिजोआज बाहिरी संस्कृति र फेसनको चपेटामा परेर यसतर्फ आकर्षण कमहुँदै गएको छ ।

    बेलैमा बाहिरी संस्कृतिको चपेटाबाट उम्कन नसकेमा यो नाँचको अस्तित्व मेटिने पक्का छ । त्यसकारण अबको पुस्ताले यसबारेमा धेरै नै ख्याल गरेर आफ्नो संस्कृति बचाउनेतिर जोड दिनु पर्दछ ।

    टाेखालाइभ डट कम / असार २२, काठमाडौं
    www.tokhalive.com

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै