कुमार रन्जित
धातु मूर्तिकलाले विश्व बजार लिइरहेको अवस्थामा अमेरिकी भूमिमा एक नेपाली युवाले सिमेन्टबाट बनाउने सुन्दर मूर्तिकला श्रृजना गरेर सबैलाइ आश्चर्यमा पार्दै सफलता हासिल गरेका छन् । काठमाडौं टोखाका ३३ वर्षीय कलाकार सरोज श्रेष्ठले संयुक्त राज्य अमेरिका पुगेर कलाको कुनै सीमा हुँदैन र श्रृजनशीलता जहाँ पुगेपनि सफल हुन्छ भन्ने प्रमाणित गर्नुभएको हो ।
काठमाडौंको उत्तरी प्राचीन सांस्कृतिक नगर टोखा क्षेत्रको चण्डेश्वरीमा ३३ वर्षअघि जन्मिएका सरोजको जन्मघर नै कलामय थियो । उहाँका बुबा पूर्णलाल र काका नन्दलाल दुबै स्थानीय तहमा चिरपरिचित कलाकार हुनुहुन्थ्यो । घरायसी वातावरण नै कलापूर्ण भएकाले उहाँ सानैदेखि कलाकारितामा भिज्दै रमाउनु भएको थियो । त्यसक्रममा सरोजले विद्यालयस्तरमै विभिन्न कला प्रदर्शनीहरुमा भाग लिँदै पुरस्कारहरु प्राप्त गर्नुभएको थियो ।
नेपालमा रहँदा विभिन्न अवसरमा आफ्ना कला कल्पनाशीलता प्रदर्शनी गर्दै हुर्की बढ्नुभएका सरोजले रुची अनुसारकै विषय छनोट गर्दै काठमाडौंको भोटाहिटीमा रहेको ललितकला क्याम्पसबाट सन् २०१२ मा स्नातक गर्नुभएको थियो । त्यतिञ्जेलसम्म उहाँले आफूलाई नेपालको कला क्षेत्रमा प्रतिभाशाली युवा कलाकारका रुपमा चिनाइसक्नु भएको थियो ।
दुईवर्षअघि सन् २०१५ मा कलामा स्नातकोत्तर (एम.एफ.ए.) गर्न अमेरिका प्रस्थान गर्नुभएका सरोज हाल फन्ट बोने यूनिभर्सिटी, सेन्ट लुइस सिटी मेसूरी, संयुक्त राज्य अमेरिकामा कला विषयमै अध्ययन गर्दै हुनुहुन्छ । उहाँको विशेष रुची चित्रकलामा पानीरंगमा रहेपनि अहिले उहाँले अमेरिकामा सिमेन्टबाट मूर्ति बनाउने कलामा दक्षता हासिल गर्दै लोकप्रियता प्राप्त गरिरहनुभएको छ ।
आफ्नै स्टुडियोमा सेटिंग गर्दै आउनुभएका यसअघि सरोजका माइला दाइ इन लायन, लाइभ डेमोस्टेशन, टोखा महोत्सव, कोलुम इन लेडिज हेटौंडा, अल्बर्ट आइन्सटाइन (प्याराडाइज स्टुडिओ) चर्चित कृति हुन् ।
पानी रंगमा ‘गोल्डेन इगल’ का साथै ‘गड इन्साइड द टेम्पल’ जस्ता महत्वपूर्ण कला सिर्जना गरेका सरोजले ०६७ सालमा कलाकार बुबाको निधनपछि बुबाबाटै सिकेको सिमेन्ट कलालाई निखार्दै अघि बढ्नुभएको थियो । सरोजको सिमेन्टको सुन्दर मूर्ति बनाउने कलामा प्रचूर सम्भावना रहेको उनकै अमेरिकी विश्वविद्यालयका प्राध्यापक डेभिड न्यूटोनले अभिव्यक्त गर्नुभएपछि त्यसतर्फ अमेरिकी कला जगत्को पनि ध्यान मोडिएको देखिएको छ ।
‘‘नेपालमा कला क्षेत्रमा प्रशस्त सम्भावनाहरु भएपनि राजनीतिका कारण यहाँको वातावरण दूषित छ” भन्नुहुने सरोजले आफू नयाँ सोच आवश्यक महसूस गर्दै नयाँ सोच र नयाँ उत्साहका साथ नयाँ श्रृजनाका लागि अमेरिका पुगेको बताउनु हुन्छ । अमेरिकामा पनि आफ्नो प्रतिभाको कदर भएको महसूस गर्नुभएका सरोजले त्यहाँ फन्ट बोन्ने आर्ट ग्यालरीमा एकसाता लामो एकल कला प्रदर्शनी गरेपछि उहाँ चर्चामा आउन थालेको हो ।
यसैक्रममा आफ्नै गुरु प्रोफेसरको अनुमतिमा अमेरिकामा एकसाता सिमेन्ट मूर्तिकलाको एकल प्रदर्शनीका साथै बनाउने तरिका सिकाउने कार्य गर्नुभयो । जसमा उहाँले दर्शकहरुले अत्यन्तै चासो लिएको अनुभव बटुल्नुभएको छ । सो प्रस्तुतिबाट प्रो न्यूटोन पनि प्रभावित हुनुभएको र उहाँले आफ्नो कलालाई मौलिक भएको संज्ञा दिँदै कलेज र आफ्नोतर्फबाट प्रशंसापत्र सहित धन्यवाद पनि दिनुभएको थियो ।
प्रस्तुतिका क्रममा प्रो. न्यूटोनले सरोजले नेपालको गौरव बढाएको र उनले आफ्ना बुबाको शीपलाई अगाडि बढाएको भन्दै आफ्नो कलेजमा पनि सिकाउने सोच रहेको जानकारी गराउनुभएको थियो । यसरी अमेरिकामा ललितकला विषयमा उच्च शिक्षातर्फ स्नातकोत्तर गर्ने पहिलो नेपाली पनि बन्नुभएका सरोजले नेपाली कला जगत्लाई पनि गुन लगाउनुभएको छ । नेपाली भूमिबाट कलाकारिताको नमूनाकासाथ अमेरिकी भूमिमा पुगेका कलाकार सरोज श्रेष्ठ जन्मनुभएको स्थान टोखाका स्थानीयवासी र उहाँले पढ्नुभएको ललितकला क्याम्पसका गुरुवर्गका साथै समकालिन कलाकारहरुले उहाँले गरेका गौरवपूर्ण कार्यको प्रशंसा गरिरहेका छन् ।