•            
    • TOKHA LIVE

    • १३ बैशाख २०७८, सोमबार २०:२६

    नेपाल शिरोमणी बज्रयोगिनी जात्रा भोलिदेखि

    टाेखालाइभ/ बैशाख १३ ,२०७८

       
    लावण्य/साँखु । मुलुककै ऐतिहासिक एवं सांस्कृतिक नगरी साँखुमा आठ दिनसम्म मनाइने बज्रयोगिनी जात्रा भोलिदेखि शुरु हुने भएको छ ।

    वैशाख १४ गतेदेखि शुरु हुने जात्राको लागि चैतेदशैँ (अष्टमी)मा पाँच थकाली गुर्जुसहित स्थानीय नगरवासीका तर्फबाट मूल बज्रयोगगिनी देवीलाई दाम, सुपारी र स्वयम्भू चैत्य चढाएर निमन्त्रणा गर्ने परम्परा छ । चैत्र शुल्क पूर्णिमादेखि वैशाख कृष्ण अष्टमीसम्म चल्ने यो जात्रा तीन हजार ३०० वर्ष अघिदेखि शुरु भएको दावी स्थानीय ईतिहासविद् प्रकाशमान सक्वको रहेको छ । ऐतिहासिक पौराणिक बज्रयोगिनी जात्राको अवसरमा चैतेदशैँको दिन जात्रा शुरु भएको सङ्केतस्वरुप नायखीं बाजा बजाएर नगर परिक्रममा गरेर झ्याली पिट्ने गरिन्छ ।

    यसवर्ष कोरोना महामारीलाई ध्यानमा राखेर चलाखु टोल सुधार समितिले मास्क, स्यानिटाईजर वितरण गर्नुका साथै साबुन पानीले हात धुने व्यवस्था गर्नेछ भने सामाजिक दूरी कायम गरेर पूजा आजा सञ्चालन गर्नेछ । तर खट बोक्नेहरुलाई भने स्यानिटाईज गर्ने र एउटा खट र अर्को खट कम्तीमा ५० मीटरको दूरी फरक पारेर जात्रा गरिने जानकारी समेत अध्यक्ष प्रज्वलमान सिंहले बताउनुभएको छ ।

    परापूर्वकालमा साँखु महानगरका राजा शङ्खरदेवले आफ्नो राज्यअन्तर्गतका सात वटा गाउँको कल्याण होस्, खेतीपाती राम्रो होस् तथा महानगरवासीमा सुखशान्ति मिलोस् भन्दै सो जात्रा चलाएको जानकारहरु बताउँछन् । अष्टमीको दिन जात्रा शुरु भएको सङ्केतस्वरुप नायखीं बजाएपछि साँखु नगरभित्रका बासिन्दाले छालाको जुत्ता लगाउन, छाता ओढ्न, पुरानो घर भत्काउन, नयाँ बनाउन, साहुले ऋण असुल्न, हात्ती घोडा चढ्न र डोलीमा बस्न नपाउने मान्यता रहिआएको छ ।

    इतिहासविद् प्रकाशमान सक्वका अनुसार, “मल्लकालमा जात्रा अवलोकन गर्न हात्ती घोडा चढेर आउने राजारानीसमेत नगर प्रवेश गर्न पदैल हिँडेर आउने इतिहासमा उल्लेख छ ।” जात्रामा बज्रयोगिनी माइको मन्दिरबाट बज्रयोगिनीको सुनको जलप लगाएको प्रतिमूर्ति, सिंहिनी, व्याध्रिनी र स्वयम्भू(चैत्य भराड)को गरी चार वटा मूर्ति तल साँखु बजारमा झार्ने प्रचलन छ ।

    नेपालको शिरोमणि देवी बज्रयोगिनी माताबाट राजा र प्रजालाई दर्शन दिने उद्देश्यले यी चार मूर्ति तल साँखु बजारमा ल्याउने चलन चलाइएको हो । जात्रामा शङ्खरापुर नगरको उत्तरतिर बज्रयोगिनी मन्दिरबाट मूर्तिसँगै सिंहमुखी, बाघमुखि मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखु बस्तीमा ल्याउने गरिन्छ । बज्रयोगिनी माई बस्तीमा सवारी गराउँदा बालाजुको बाइसधारामा पनि मेला लाग्ने परम्परा छ ।

    चार मूर्ति बजारमा झारेपछि ऐतिहासिक साँखु नगरका लप्सेफेदी, पालुबारी, गागल, इन्द्रायणी र चाँगुलगायत सात गाउँमा चार दिनसम्म खेतीपातीका काम नगर्ने चलन रहेको छ । जात्रा प्रत्येक वर्ष मनाउने भएतापनि साँखु बजारभित्रका चार वटा टोलमा मात्रै माई राख्ने सत्तल रहेको छ । सो सत्तलहरुमा प्रत्येक वर्ष पालैपालो बज्रयोगिनी माईको विराजमान हुन्छ । यस वर्ष साँखुको चलाखुटोलमा देवी देवताहरु राख्ने पालो परेको र यस वर्ष जात्रा पनि चलाखु टोल सुधार समितिको पहलमा हुने भएको हो । चलाखु टोलको अगुवाईमा बज्रयोगिनी जात्रा मूल व्यवस्थापन समितिमार्फत् जात्रा सञ्चालन गरिने भएको हो ।

    काठमाडौँ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङलगायतका छिमेकी जिल्लाबाट जात्रा हेर्न आउनेको बाक्लो उपस्थिति हुने आयोजकले जानकारी दिएको छ । जात्रा वैशाख १४ गतेदेखि शुरु भएर वैशाख २२ गते सकिने छ।- लावण्य सन्देशबाट

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै