टोखा लाइभ ।२०७८ साउन २० गते
काठमाडौं। नेपाल विद्युत प्राधिकरणमा पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्री शेरबहादुर देउवाले ऊजामन्त्री पम्फा भुसाललाई निर्देशन दिएको सार्वजनिक भएपछि हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले के गर्छन् भन्ने चासो बढेको छ।
प्राधिकरणमा कुलमानलाई ल्याउने सरकारले तयारी थालेपछि शाक्यले बुधबार पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले आफूलाई प्राधिकरणबाट अक्षम भनेर हटाइए त्यो सह्य नहुने चेतावनीसमेत दिएका छन्।
उनले भनेका छन्, ‘वैकल्पिक बाटो दिँदा जान्छु, जिम्मेवारी लिन्छु।’ तर अक्षम भनेर निकाल्न खोजिए अदालत जानेसमेत बताएका छन्। उनले आफूलाई अहिलेसम्म सरकारका तर्फबाट कुनै प्रकारको निर्देशन नआएकोसमेत बताएका छन्।
कुलमानको ४ वर्षे कार्यकाल सकिएपछि उनलाई पुनः नियुक्त गर्न तत्कालिन ओली सरकारमाथि जनसतरबाट दबाब दिइएको थियो। तर, ओली सरकारले कुलमानलाई पुनःनियुक्ति नगरी शाक्यलाई शुरुमा निमित्त कार्यकारी निर्देशक र पछि कार्यकारी निर्देशक बनाएको थियो। ओली सरकारले यो प्रकरण्मा निकै आलोचनासमेत व्यहोरेको थियो।
ओली सरकार विस्थापित भएर देउवा सरकार आएपछि पुनः कुलमानलाई प्राधिकरणमा ल्याउनुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्री देउवाले कुलमानलाई नियुक्ति गर्ने प्रक्रिया थाल्न निर्देशन दिएका छन्। तर, हालका कार्यकारी निर्देशक शाक्यबारे के निर्णय हुन्छ त्यो भने हेर्न बाँकी छ।
दैनिक १८ घण्टा लामो लोडसेडिङ ब्यहोरेका नेपालीलाई घिसिङले लोडसेडिङ मुक्त पारेका थिए भने घाटामा गएको प्राधिकरणलाई नाफामा पुर्याएका थिए। विद्युत चुहावट नियन्त्रण गरेका थिए। तर शाक्य आएसँगै फेरि अघोषित लोड सेडिङ भइरहेको छ भने प्राधिकरण घाटामासमेत जान थालेको छ।