विशेषत : सस्तो ब्याजदर भएको बैंक राष्ट्रिय वाणिज्य बैंक ग्राहकहरुको पहिलो रोजाईमा पर्छ । धेरै जसो निजी बैंकहरुले १२ देखि १९ प्रतिशतसम्म ब्याज लिइरहेको छन् । तर राष्ट्रिय वाणिज्य बैंकले विना धितो कम प्रतिशतले कर्जा प्रवाह गरिरहेको तथापि सरकारी बैंकमा काम सुस्त र ढिलो हुने गुनासा भने आइरहेका छन् । यसै सम्बन्धमा टोखा शाखामा रहेको राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक सुजाता थापासँग टोखा लाइभ डट कमका लागि हिक्मत डंगोल र सानुराज डंगोलले गरेको संक्षिप्त कुराकानी:-
१) अहिले नेपालमा थुप्रै बैंकहरु सञ्चालनमा आइरहेका छन् तै पनि यि सबैको बीचमा राष्ट्रिय वाणिज्य बैंक नै लोकप्रिय हुनुको कारण के हो ?
राष्ट्रिय वाणिज्य बैंक सबै भन्दा बढी आम्दानी गर्न सफल बैंक हो । यो बैंक नेपालको सरकारी बैंक हो । अरु प्राइभेट बैंक नाफामुलक हुन्छन् भने हामी नाफा मूलक भन्दा बढी सेवामूलक छौं । सरकारले जे भन्यो त्यही नीति नियमलाई हामी आत्मसात गछौँ । हाम्रो सहुलियतको नीति तपाई हाम्रो सहुलियत कर्जामा देख्नु सक्नु हुन्छ । सबै भन्दा धेरै, सहुलियत कर्जा जति हाम्रो बैंकले लगानी गरेको छ । जति पनि लगानी भएको छ, त्यसको ५०% हिस्सा राष्ट्रिय वाणिज्य बैंकको छ । सरकारी बैंक भएर होला कि जनताहरुको माझ यो बढी लोकप्रिय नै छ ।
२) यो बैंकको सञ्चालन कहिलेदेखि गर्नु भएको हो ?
हामीले गत २०७६ साल भदौ १ गते देखि राष्ट्रिय वाणिज्य बैंकको शाखा टोखामा शुरुवात गरेका हौं ।
३) यो बैंकको बारेमा आम मानिसहरुलाई कत्तिको बुझाउन सफल हुनुभएको ठान्नुहुन्छ ?
हामीले यहाँका आम जनताहरुलाई लक्षित गरी वित्तिय साक्षरत कार्यक्रम पनि ग¥यौ । अनि वहाँहरुलाई खाता खोल्न किन आवश्यक छ ? कर्जा लगानी बाहिर अर्थात Informal Sector (अनौपचारिक क्षेत्र) बाट पनि भई नै रहेको हुन्छ । यस्तोमा बाहिरबाट र बैंकबाट लेनदेन गर्न के फरक हुन्छ ? भनेर त्यो चेतना जगायौं । हामी कहाँ महिलाहरुलाई आर्थिक कारोवार गर्नको लागि सुन कर्जाको व्यवस्था पनि छ । सुन कर्जा मार्फत रू. १०, २०, ५० हजार देखि १ लाखको सम्मको सुन धीतो राखेर ऋण लिन सक्नु हुन्छ ।
४) राष्ट्रिय वाणिज्य बैंक टोखा क्षेत्रमा आउनुको कारण के हो ?
हाम्रो कारोबार हुने ठूला शाखाहरु छन्, महाराजगंज र बालाजु क्षेत्रमा । त्यसको बीचमा टोखा क्षेत्र पर्छ । यहाँ पनि आर्थिक गतिविधिहरु बढिरहेका छन् । टोखा सरकारको मुख्य प्रोजेक्टमा पनि जोडिएको छ । त्यसले गर्दा बैंकले यहाँ धेरै संभावना देख्यो । अब लगानी बढ्ने संभावनाको सन्दर्भ यहाँको ग्राहकहरुको ग्याप भर्नका लागि, यहाँका ग्राहकहरुको सहभागिता वृद्धि गर्नका लागि र जनताहरुसँग हातोमालो गर्नका निम्ति हामी यहाँ आएका हौं ।
५) टोखाको वाणिज्य बैंकले सामाजिक गतिविधिमा कत्तिको चासो राखेको छ ?
सामाजिक कार्य भन्नाले हामीले यहाँका महिलाहरुसँग वित्तिय साक्षरता ग¥यौ । अनि हाम्रो अर्को CSR कार्यक्रम पनि छ । त्यस्तै यहाँ भएका सरकारी स्कूल अनि विपन्न वर्गहरुलाई सपोर्ट गर्नको निम्ति पनि हामीहरुसँग योजना छन् । अनि कृषि क्षेत्रमा लगानी गर्नका लागि फाइलहरु लिएका छौं । उता सरकारको प्राथमिकतालाई पनि हामीले अगाडि ल्याएको छौ । त्यसमा पनि लगानी बढाउनु प¥यो । त्यो सबै प्रक्रियामा छ । कोरोनाले गर्दा समय अलि बढ्यो नत्र हामीले सबै कार्य रफ्तारमा गरिरहेका हुन्थ्यौ ।
६) टोखामा सामाजिक जागरण गर्नका निम्ति अरु निजी बैंकले वृक्षारोपण कार्यक्रमलाई अगाडि बढाइरहेका छन् । यहाँले पनि यो क्षेत्रमा वातावरणीय सन्तुलनका लागि नीतिगत संरचना ल्याउनु हुन्छ ?
अब वृक्षारोपण आवश्यक भए अवश्य नै गर्छौ । २०७६ साल दशैंमा शुभ–कामना आदान प्रदान कार्यक्रम भएको थियो । त्यो बेला हामी नयाँ थियौ । तपाईहरुसँग चिनजान भएको थिएन । नत्र यहाँहरुलाई पनि थाहा हुन्थ्यो । हामीले नगरपालिकासँग चिनजान होस भनेर पनि त्यो कार्यक्रम गरेका थियो । त्यस अन्तरर्गत वहाँहरुले के–के भन्नुहुन्छ । यहाँ के–कस्तो आवश्यकता छ ? हामी त्यसलाई पछ्याउँदै CSR को प्रोग्राम अगाडि बढाउँछौं ।
त्यसमा पनि महिलालाई वित्तिय साक्षरता यो पाटो हुन सक्छ । लाइव्रेरीलाई सपोर्ट हुन सक्छ । कुनै सामाजिक कार्य गरिरहेको सामाजिक संस्थासँग पनि समन्वय हुन सक्छ ।
७) टोखाका आम–मानिसहरुले यस बैंकबाट कतिको फाइदा लिन सकिन्छ ?
बैंकिंग क्रियाकलाप सरकारी बैंकमा अन्यत्र भन्दा बढी हुन्छ । त्यसैले वित्तीय समावेशीकरण भन्ने सरकारको जुन नीति छ, नि नेपालको बैंकमा खाता हुनुपर्ने, यसमा टोखा नगरपालिकाका मानिसलाई अझ समावेश गर्न यो बैंकले ठूलो महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । अहिले एउटा पुस्ता छ, जुन सरकारी बैंक भन्दा अर्काेमा जान रुचाउँदैन । यो वहाँहरुको सही निर्णय हो भन्न सकिन्छ । सबै बैंक वा वित्तिय संस्थाको उत्तिकै विश्वास हुदैन । तर सरकारी बैंक प्रति भने निकै विश्वास रहेको छ ।
८) टोखा नगरपालिकामा धेरै असहाय र एकल महिलाहरु छन् । उनीहरुमा पनि शीप र कौशल छन् । यसमा तपाईको “तपाईको आफ्नै बैंक, धेरै दिने भनेकै आफ्नैले हो ।” भन्ने नाराले कतिको सार्थकता पाएको छ ?
एक त यो सरकारी बैंक हो । सरकार भनेको आफनै हो । सरकारी बैंक भएकोले आफ्नै हुन्छ भनेको हो । ऋणमा होस या त निक्षेपमा होस, यसमा पनि कम ब्याजदर छ । कुनै पनि प्राइभेट बैंक र अन्य वित्तिय संस्थाहरुले पनि दिइरहेका छन् नि ! उनीहरुको भन्दा कम ब्याजदर हाम्रो रहेको छ । सेवामा हामी पनि कम छैनौं । उनीहरुको सीपलाई व्यावसायिक प्रवद्र्धन गर्न हामीसँग व्यावसायिक कर्जाका व्यवस्था छ । अनि शैक्षिक बेरोजगारहरुले म व्यवसाय सञ्चालन गर्छु भने पनि सहुलियत पूर्ण कर्जा प्रवाह गरेको छ । ग्राहकहरुले सहुलियत पूर्ण ब्याज भन्नाले हाम्रै बैंकलाई बुझिरहेका छन् । त्यसमा पनि जसको हातमा सीप र जाँगर छ, वहाँहरु सबै लाभान्वित हुनुभएको छ ।
९) मुलुकमा बैंकहरुको संख्या अधिक भएका कारण अस्वस्थ प्रतिस्पर्था बनेको छ । के बैंकको संख्या घटाउनु पर्ने अवस्था छ त ?
हाम्रो सानो मुलुकमा आवश्यकता भन्दा धेरै नै बैंकहरु छन् जस्तो मलाई लाग्दछ । अहिले राष्ट्रिय बैकको नीति हेर्नु भयो भने मझयौला देखि ठूला–ठूला बैंकहरु डुबिरहेका छन् । सहकारी र जुन सुकै बैंक तथा वित्तिय संस्थाहरु छन्, वहाँहरुको आ–आफ्नो भूमिका छ जस्तो लाग्दछ । त्यस्तै Micro Finance हरूले पनि राम्रो काम गर्नु भएको छ । महिलाहरुमा लगानी गर्ने देखि लिएर सबैले आ–आफ्नो भूमिका निर्वाह गरेका छन् । तापनि राष्ट्र बैंकको पनि नयाँ नीतिहरु आएका छन् । यसले पनि बैंकहरु घटदै जाने संभावना देखिन्छ ।
१०) कोभिड १९ को संक्रमणले गर्दा बैंकहरुले गर्ने लगानी र कर्जा प्रवाहमा कतिको असर गरेको छ ?
कोभिड १९ ले बैंकहरुमा धेरै नै असर गरेको छ । किनभने बैकिंङ्ग एउटामा मात्र नभएर सबै कुरामा जोडिएको छ । कर्जा अन्तगर्त घर कर्जा, व्यापारीक कर्जा मार्फत सबैमा बैंक पुगेका छ । हरेक क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने हुन्छ । व्यापारिक निर्माण देखि लिएर होटेल र गाडीमा लगानी जान्छ । त्यसै गरी पर्यटन क्षेत्रमा पनि लगानी हुनु पर्छ, तर महामारीले गर्दा लगानी खुम्चेको छ । साँवा र ब्याज भुक्तानी गर्नुपर्ने समय पनि विस्तार गर्नु प¥यो । यसमा अवश्य नै प्रभाव परेको छ । अंग्रेजीमा एउटा भनाइ छ– Do not put all eggs in one basket भन्छन् नि ! त्यस्तै हामीले विविधीकरण गर्नुपर्छ । हरेक क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने हुन्छ । हाम्रो घर निर्माण, होटेल र गाडीमा लगानी छ । कतिजना त घर भाडामै निर्भर हुनुहुन्छ तर किस्तामा । पब्लिकमा भाडा छुट दिनुपर्छ भनेको छ । जसले घर भाडा नै बैंकको किस्ता बुझाई रहनु भएको छ । वहाँहरु नै बढी प्रभावित हुनु भएको छ । बैंकमा किस्ताहरु समयमा आएको छैन ।
११) तपाई किन सबै अन्डाहरु एउटै डालो भित्र राख्न सहमत हुनुहुन्न त ?
एउटै क्षेत्रमा लगानी ग¥यो भने त्यो लगानीले कहिलेकाही धरासायी पार्दछ । हामीले पर्यटन क्षेत्रमा मात्र लगानी गरेको भए अहिले यो क्षेत्र निकै प्रभावित छ । बैंकलाई धेरै असर पाथ्र्याे । त्यसैले हामीले सबैमा अलि–अलि लगानी गरेर जेखिम कम गरेका छौं ।
१२) अलिकति प्रसँग बदलौं, तपाईको करियरको शुरुवात कहिले र कसरी भएको थियो ?
मैले २०७० सालमा प्राइभेट बैंकबाट काम सुरु गरेको थिए । त्यहाँ काम गर्दा गर्दे मेरो मनमा बैंक परिवर्तन गर्ने सोच आएको थियो । त्यो बेला मलाई के भनिएको थियो भने सरकारी बैंकमा राजनीति हावी हुन्छ । काम गर्ने वातावरण हुँदैन । २०७० सालको चैत्रमा यही राष्ट्रिय वाणिज्य बैंकको टोखा शाखामा कामको थालनी गर्दा सहायक पदबाट सुरु गरेर सहायक प्रबन्धक अनि प्रबन्धक जिम्मेवारी अहिले सम्हाली रहेको छु । सरकारी बैंकमा करिअर हुदैन भन्न मिल्दैन । आफूले राम्रो कार्य गर्दे गएमा आफ्नो प्रगति हुँदैं जान्छ । म नयाँ पुस्तालाई यही भन्न चाहान्छु कतिपय ग्राहकको मनमा सरकारी बैंक भन्ने पुरानो सोच हुन्छ । काम ढिलोे हुन्छ भने मानसिकता हुन्छ । त्यो वातावरण अहिले छैन । तपाई आफै पनि हेर्न सक्नुहुन्छ । तपाईले आफ्नो प्रक्रिया पुरा गरेर ल्याउनुस र विना धितो ऋण लिनोस, आफ्नो व्यवसाय गर्नाेस । सही रुपमा लगानी गर्ने हो भने यसले जीवन स्तर उकास्ने गर्छ । म सम्पूर्ण युवा वर्गलाई व्यवसायको योजना बनाउनुस र ऋण लैजानुहोस भन्न चाहन्छु ।
१३) सरकारी बैंकमा काम कारवाही ढिला हुने गरेको छ भन्ने आरोप लाग्ने गरेको छ नि ?
त्यस्तो पुरानो वातावरण अहिले छैन । म भन्दा जुनियर स्टाफहरु पनि छन् ।वहॉहरू पनि कोही भन्दा कम छैनन्। अहिले पनि आम मानिसहरुमा यो सोंच छ कि सरकारी बैंकमा ढिला सुस्ती हुन्छ । तर त्यसो होइन । म के आग्रह गर्न चाहन्छु भने आउनु होस ! तपाई सबै प्रक्रिया पु¥याउनुस । आफूले चाहेको ऋण लिएर जानुहोस् ।
१४) करिअर कै सिलसिलामा तपाईले विर्सन नसकेका क्षणहरु छन् कि ?
कुनै–कुनै ग्राहकहरु निर्दाेष खालका देखिन्छन् । वहाँहरुलाई बैंकको बारेमा धेरै ज्ञान पनि भएको हुँदैन । एकपटक एक जना आर्मी चेक लिएर आउनु भएको थियो । वहाँको चेक कतै भुक्तानी भएन । मेरो चेक किन लिदैनन् भनेर गुनासो गर्न आउनु भयो । पछि वहाँको आफ्नो चेक सकिएकोले साथीको चेक सापटी लिएर आएको भन्दा हाँसो गुन्जियो । वहाँमा शिक्षित भएर पनि कारोवार सम्बन्धी सामान्य ज्ञानको कमि रहेछ भन्ने कुरा बुझियो । यहाँ त्यस्ता घटना भैरहन्छन् ।